रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपाली बजारमा भित्रियो ‘क्याम्पा कोला’

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपाली बजारमा भित्रियो ‘क्याम्पा कोला’

काठमाडौं : भारतीय उद्योगपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीजले चौधरी समूहसँगको सहकार्यमा चिसो पेय पदार्थ ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ।

रिलायन्सको एफएमसीजी शाखा रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) मार्फत उत्पादन हुने क्याम्पा कोला अन्तर्राष्ट्रिय स्तरमा चिनिएको पुरानो भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो। क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्स र चौधरी समूहबीचको सम्बन्ध अझ बलियो बनाउने र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धता झनै प्रष्ट भएको विश्वास लिइएको छ।

रिलायन्सले सन् २०२२ मा क्याम्पा ब्रान्ड खरिद गरी २०२३ देखि पुनः व्यावसायिक उत्पादन सुरु गरेको हो। त्यसयता ब्रान्डलाई भारतीय बजारमा पुनः स्थापित गरिसकेको चौधरी समूहको दाबी छ।

‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले पुस्ता–पुस्ताबीचको भावनात्मक सम्बन्ध बोकेको छ। नेपालमा दीर्घकालीन लगानीको सोचका साथ हामी आएका छौँ,’ आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भने।

गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) का देशहरूमा पहिलेनै परिचित भइसकेको क्याम्पा ब्रान्ड अब नेपालमा चौधरी समूहको स्थानीय उत्पादन र वितरण प्रणालीमार्फत उपलब्ध हुनेछ।

कम्पनीका अनुसार सुरुवाती चरणमा क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, इनर्जी ड्रिङ्क गोल्ड बुस्ट र बेरी किक नेपाली बजारमा उपलब्ध हुनेछन्। क्याम्पा कोला, लेमन र अरेन्जको २५० मिलिलिटर बोतलको खुद्रा मूल्य ३० रुपैयाँ राखिएको छ भने इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ हुनेछ।

‘रिलायन्ससँगको सहकार्य हाम्रो समूहका लागि मात्र होइन, नेपालका लागि पनि गर्वको विषय हो। हामी नेपाली बजारमा क्याम्पा कोलालाई लोकप्रिय बनाउन पूर्ण प्रतिबद्ध छौँ,’ चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने। 
  
रिलायन्स इन्डस्ट्रीजको एफएमसीजी शाखा आरसीपीएलले नवप्रवर्तन र उपभोक्ता सन्तुष्टिमा जोड दिंदै विश्वस्तरीय उत्पादनहरूलाई स्थानीय स्वादअनुसार निर्माण र वितरण गर्दै आएको छ। कम्पनीले समुदायसँग दीर्घकालीन सम्बन्ध बनाउने, सबैका लागि सहज मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउने र राष्ट्रको समृद्धिमा योगदान पुर्याउने उद्देश्य लिएको जनाएको छ।

नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुप विश्वभर २०२ भन्दा बढी कम्पनी र २६१ ब्रान्डमार्फत क्रियाशील छ। २० हजारभन्दा बढी कर्मचारी संलग्न यो समूहले खाद्य तथा पेय पदार्थ, वित्तीय सेवा, शिक्षा, सूचना प्रविधि, पूर्वाधार, अटोमोबाइल, रियल इस्टेट र अतिथ्यता लगायत विविध क्षेत्रमा लगानी गर्दै आएको छ।
 

साउन २, २०८२ शुक्रबार १५:४७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।