दिल्लीमा दर्जनौं स्कुलका कक्षाकोठामा बम राखिएको धम्की आएपछि...

दिल्लीमा दर्जनौं स्कुलका कक्षाकोठामा बम राखिएको धम्की आएपछि...
Photo : News Arena Network

काठमाडौं : दिल्लीका दर्जनौँ विद्यालयहरूमा बम राखिएको धम्की आएपछि शुक्रबार त्यस क्षेत्रको सुरक्षा सतर्कता अपनाइएको छ। राजधानीका केही विद्यालय परिसरमा बम डिस्पोजल टोली, अग्नि नियन्त्रक र प्रहरी तैनाथ गरिएका छन्।

रिचमन्ड ग्लोबल स्कुल, सोभरिन स्कुल, मोडर्न इन्टरनेसनल स्कुल र हेरिटेज स्कुलमा इमेलमार्फत बम राखिएको बारे सूचना पठाइएको जनाइएको छ। रिचमन्ड ग्लोबल स्कुलकी प्रिन्सिपल मौपाली मित्राले आफूहरूले इमेलमार्फत चेतावनी प्राप्त गरेलगत्तै प्रहरीलाई खबर गरेको बताइन्। प्रहरी, बम डिस्पोजल टोली र अन्य सुरक्षा निकायको सहयोगमा विद्यालय परिसरमा जाँच गर्दा कुनै पनि विस्फोटक पदार्थ फेला नपरेको उनले जानकारी दिइन्।

दिल्ली प्रहरीका अनुसार पछिल्ला तीन दिनमा करिब १० वटा स्कुल र एक कलेजले यस्ता धम्कीपूर्ण इमेल प्राप्त गरेका छन्। शुक्रबार मात्रै २० भन्दा बढी स्कुलहरूलाई यस्तै इमेल आएको बताइएको छ। 

प्रहरीका अनुसार चेतावनीमा भनिएको छ, ‘हेलो, मैले विदालयको कक्षाकोठामा धेरै विस्फोटक उपकरणहरू राखेको छु । विस्फोटकहरू कालो प्लास्टिकको झोलामा छन् म तिमीहरू प्रत्येकलाई यस संसारबाट विदा गर्नेछु ।’ 

यस्ता हल्ला फैलिएपछि प्रहरी र सुरक्षा निकाय सतर्क बनेका छन्। थोमस स्कुल, वसन्त भ्याली स्कुल, द मदर इन्टरनेसनल स्कुल, सरदार पटेल विद्यालय, रिचमन्ड ग्लोबल स्कुल लगायतका स्कुलहरूमा धम्की पुगेको पुष्टि भएको छ।

यसअघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि यस्तै बम राखिएको दाबी गर्दै इमेल प्राप्त भएको थियो। त्यहाँको पुस्तकालयमा बम राखिएको भनिए पनि कुनै शङ्कास्पद वस्तु फेला परेको छैन।

सुरक्षा सतर्कता स्वरूप धम्की आएका स्थानहरू खाली गराई कुकुर स्क्वाड, बम डिस्पोजल युनिट र दिल्ली अग्नि नियन्त्रण टोलीसहितको उच्च सुरक्षा तैनाथ गरिएको छ।

दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्फत दिल्लीका विद्यालयहरूलाई बमको धम्की आउनु चिन्ताजनक भएको बताउँदै विद्यार्थीहरूको सुरक्षामा सरकार गम्भीर नभएको आरोप लगाएकी छन्। उनले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारको आलोचना गर्दै विद्यार्थीहरू सुरक्षित महसुस गर्न नसकेको गुनासो गरेकी हुन्।

सोमबार चाणक्यपुरी र द्वारका क्षेत्रका दुई विद्यालयलाई पनि यस्तै इमेलमार्फत बमको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ। यद्यपि हालसम्म कुनै पनि स्थानमा विस्फोटक पदार्थ फेला परेको छैन।

प्रहरीले यस्ता इमेलहरूबारे गम्भीर अनुसन्धान गरिरहेको र कसले पठाएको भन्नेबारे साइबर युनिटमार्फत पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएको छ।

साउन २, २०८२ शुक्रबार १५:१५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।