पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा निर्णय लिँदा सावधानी अपनाउन प्रेस काउन्सिलको आग्रह

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा निर्णय लिँदा सावधानी अपनाउन प्रेस काउन्सिलको आग्रह

काठमाडौं : प्रेस काउन्सिल नेपालले राज्यका विभिन्न निकायहरूलाई आफ्नो क्षेत्राधिकारको सीमा बुझेर काम गर्न आग्रह गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दा काउन्सिलले पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयहरू आफ्नो क्षेत्राधिकारभित्र रहेको स्पष्ट पार्दै यी विषयहरूमा निर्णय लिँदा सावधानी अपनाउन सुझाव समेत दिएको छ।

जेष्ठ सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकपछि वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काउन्सिलले आफ्नो जिम्मेवारी पूरा गरिरहेको अवस्थामा कुनै भ्रम नहोस् र पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताजस्ता महत्त्वपूर्ण विषयमा निर्णय लिँदा आफ्नो अधिकारक्षेत्र बुझेर काम गर्न राज्यका सम्बन्धित निकायहरूसँग अनुरोध गर्दछौं।’

प्रेस काउन्सिल ऐन २०४८ को प्रस्तावना, दफा ५ को उद्देश्य र दफा ७ मा तोकिएको काम, कर्तव्य र अधिकारअनुसार काम गर्दै आएको काउन्सिलले स्मरण गराएको छ।

दफा ५ मा उल्लेखित उद्देश्यहरूमा स्वस्थ पत्रकारिताको विकासका लागि अनुकूल वातावरण निर्माण गर्ने, प्रेस स्वतन्त्रताको दुरुपयोग रोक्न पत्रकारिताको आचारसंहिता निर्धारण गर्ने, प्रेस र नेपाल सरकारबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने, सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा संरक्षण गर्ने र प्रेसको स्वतन्त्रता तथा पत्रकारिताको मर्यादामा हस्तक्षेप हुन नदिन प्रयासरत रहने जस्ता कुराहरू समावेश छन्।

साउन २, २०८२ शुक्रबार १५:००:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।