नेपाली फिल्ममा विशाल पोस्टरको होड : ‘नरसिंहा’ पछि ‘बलिदान’ ले सार्वजनिक गर्यो ६० फिटे पोस्टर

काठमाडौं : नेपाली चलचित्रको प्रचार-प्रसारमा नयाँ शैली अपनाउने क्रम बढेको छ।
यही क्रममा दशैंको फूलपातिमा प्रदर्शन हुन लागेको चलचित्र ‘बलिदान’ ले ६० फिट अग्लो पोस्टर सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंको गोंगबुस्थित ल्होत्से मलमा चलचित्रको विशाल पोस्टर अनावरण गरियो।
ल्होत्से मलको बाहिरी भित्तामा राखिएको १६ फिट चौडाइ र ६० फिट उचाइको पोस्टरमा मुख्य अभिनेता समीर भट्टलाई आक्रामक र चोटग्रस्त अवस्थामा देखाइएको छ।
रगतले लतपतिएको र हातमा विशाल भाला बोकेको उनको क्रुद्ध अवतार पोस्टरमा प्रस्तुत गरिएको छ।
नेपाली चलचित्रमा यति ठूलो पोस्टर सार्वजनिक गरिएको यो पहिलो पटक भने होइन।
यसअघि गत जेठमा प्रदर्शनमा आएको चलचित्र ‘नरसिंहा: अवतार’ ले पनि मध्यबानेश्वरस्थित एक कलेजको भित्तामा ६० फिट अग्लो पोस्टर राखेर प्रचार गरेको थियो। तर, विशाल पोस्टरका बाबजुद उक्त चलचित्रले बक्स अफिसमा अपेक्षित सफलता पाउन सकेन।
‘बलिदान’ का निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रको छायांकन चरणदेखि नै सामाजिक सञ्जालमा क्लिप र तस्बिरहरू निरन्तर सार्वजनिक गर्दै आएका छन्।
सामाजिक सञ्जालमा व्यापक प्रचार भइसकेको अवस्थामा विशाल पोस्टरले दर्शकलाई हलसम्म तान्न कत्तिको प्रभावकारी भूमिका खेल्छ भन्ने विषयमा भने फिल्मवृत्तमा चासो देखिएको छ।
चलचित्रमा समीर भट्टका साथै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
आक्रामक प्रचार शैली अपनाएको ‘बलिदान’ ले दर्शकको मन जित्न सक्छ वा सक्दैन, त्यसको लागि भने दशैंको फूलपातिसम्म कुर्नैपर्ने हुन्छ।
साउन २, २०८२ शुक्रबार १३:४६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।