सिरहामा एउटै घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार

सिरहा : सिरहाको सुखीपुर नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
एक घरमा लुकाइराखिएको अवस्थामा ७१७.६ किलोग्राम गाँजा बरामद भएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजा लुकाउने घरधनी भने फरार रहेका छन्।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा बुधबार बिहान सुखीपुर नगरपालिका-४ पोखरियास्थित एक घरमा छापा मारिएको थियो।
प्रहरी चौकी सिलौर्वा पछवारी र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरको संयुक्त टोलीले ६० वर्षीय मेदी यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा घरभित्र लुकाइएका २६ वटा पोका गाँजा फेला परेको थियो।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक राज यादवको टोली पनि घटनास्थल पुगेको थियो।
अनुसन्धानकै क्रममा शुक्रबार बिहान थप १ पोका फेला परेपछि बरामद गाँजाको कुल परिमाण २७ पोकामा ७१७.६ केजी पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले घरधनी मेदी यादव फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको जनाएको छ।
बरामद गरिएको गाँजाबारे कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
साउन २, २०८२ शुक्रबार १३:००:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।