७० वर्षे उमेर हद र दुई कार्यकालको सीमाको निर्णय केन्द्रीय कमिटीले सच्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको विश्वास

काठमाडौं : एमालेको सचिवालय बैठकले नेताहरूका लागि कायम ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने विवादास्पद निर्णय गरेको छ।
बहुमतका आधारमा गरिएको यो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने असहमति जनाउँदै केन्द्रीय कमिटीले यसलाई परिमार्जन गर्नुपर्ने माग गरेका छन्।
बिहीबार राति बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था हटाउन प्रस्ताव पेश गरेका थिए।
बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले उक्त व्यवस्था कायम राख्नुपर्नेमा जोड दिए पनि बहुमतले पौडेलको प्रस्तावलाई अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
निर्णयमा असहमति जनाउँदै पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान मस्यौदालाई पोलिटब्युरो र केन्द्रीय कमिटीको छलफलले थप परिमार्जन गर्ने विश्वास व्यक्त गरेका छन्।
सांगठनिक संरचनामा पनि हेरफेर
उमेर हद र कार्यकालको व्यवस्थासँगै एमालेले पार्टीको सांगठनिक संरचनामा पनि हेरफेर गर्ने प्रस्ताव गरेको छ।
अब पार्टीमा १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ। यसअघि उपाध्यक्ष पौडेलले ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरे पनि आकार बढाउने निर्णय भएको हो।
त्यस्तै, ८४ सदस्यीय पोलिटब्युरो गठन गरिनेछ भने हालको सचिवालय संरचना खारेज गरी पदाधिकारीलाई नै स्थायी कमिटीको रूपमा क्रियाशील गराइनेछ।
सचिवालयले पारित गरेका यी सबै प्रस्तावहरू अब केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुनेछन्।
केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनले यसलाई अन्तिम टुङ्गो लगाउनेछ। महाधिवेशनबाट पारित भएपछि मात्र नयाँ विधान कार्यान्वयनमा आउनेछ।
साउन २, २०८२ शुक्रबार ११:४४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।