ग्रामीण लघुवित्तका महिला शेयरधनी न्याय माग्दै राष्ट्र बैंकमा
बुटवल : ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक महिला शेयरधनीहरूले संस्थाको दशौं साधारण सभाको निर्णय विरुद्ध नेपाल राष्ट्र बैंक गुहारेका छन्।
सञ्चालक समितिले जालसाजीपूर्ण ढंगले मर्जरको निर्णय गरेको भन्दै उनीहरूले भैरहवास्थित राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा उक्त निर्णय खारेजीको माग गरेका हुन्।
गत असार २८ गते सम्पन्न साधारण सभामा अधिकांश शेयरधनी र कर्मचारीलाई गुमराहमा पारिएको उनीहरूको आरोप छ।
पटक-पटक स्थान परिवर्तन गर्ने, प्रवेशका लागि छुट्टै पासको व्यवस्था गरी झुक्याउने, र १० हजारभन्दा बढी शेयर सदस्य भएको संस्थाको सभा होटलको सानो कोठामा सीमित व्यक्तिको उपस्थितिमा गरिएको महिला शेयरधनी मिना ढकालले बताइन्।
उनीहरूले बुझाएको ध्यानाकर्षण पत्रमा गुण्डागर्दी शैलीमा सभास्थल घेराबन्दी गरी प्रहरी तैनाथ गरेर शेयरधनी र कर्मचारीलाई प्रवेशमा रोक लगाइएको उल्लेख छ।
शेयरधनीहरूले प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालमाथि विभिन्न गम्भीर आरोप लगाएका छन्।
उनीहरूका अनुसार, कटुवालले अपारदर्शी ढंगले ५५० कर्मचारी नियुक्ति गरेका, संस्थालाई आर्थिक भार पर्नेगरी महँगो गाडी खरिद गरेका, कार्यालय खर्च बढाएका र काठमाडौंका महँगा होटलमा बैठक बसी आर्थिक अपचलन गरेका छन्।
साथै, उनी कम्पनी ऐनविपरीत सीईओ र कम्पनी सचिव दुवै पदमा रहेको र मनपरी ४० प्रतिशत भत्ता वृद्धि गरेको विषयमा पनि छानबिनको माग गरिएको छ।
‘१० वर्षदेखि न लाभांश, न बोनस पायौं,’ एक शेयरधनीले भनिन्, ‘घरको गाँस काटेर गरेको लगानीको अधिकार खोसियो।’
उनीहरूले ‘मर्जर नगरे संस्थालाई पीसीए लाग्छ’ भनी धम्की दिएर सर्लाहीको समाज विकास लघुवित्तसँग गरिएको विवादास्पद मर्जर निर्णय तत्काल खारेज गर्न, सबैको उपस्थितिमा पुनः साधारण सभा बोलाउन तथा अध्यक्ष र सीईओमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
यसैबीच, नेपाल राष्ट्र बैंक भैरहवा कार्यालयले विवादबारे जानकारी पाएको र आवश्यक छानबिन गरी उचित कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको छ।
कार्यालय प्रमुख रमेश अर्यालले महिला शेयरधनीहरूको निवेदन उपर प्रक्रिया अगाडि बढाइने बताएका छन्।
साउन २, २०८२ शुक्रबार १०:०३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।