तीन व्यक्तिको डीएनएबाट बेलायतमा आठ बच्चाको जन्म, गम्भीर वंशानुगत रोग नलागेको दाबी

तीन व्यक्तिको डीएनएबाट बेलायतमा आठ बच्चाको जन्म, गम्भीर वंशानुगत रोग नलागेको दाबी

एजेन्सी : बेलायतमा चिकित्सा विज्ञानले एक नयाँ फड्को मारेको छ। त्यहाँ हालसम्म आठ यस्ता बालबालिकाको जन्म भएको छ, जसको शरीरमा तीन फरक व्यक्तिको डीएनए छ। आमाबुबाबाट सन्तानमा सर्ने गम्भीर र प्रायः घातक हुने वंशानुगत रोगहरू रोक्न यो विशेष प्रविधि अपनाइएको हो।

बेलायतका वैज्ञानिकहरूले विकास गरेको यो प्रविधिमा आमाको अण्डाणु, बुबाको शुक्रकीट र एक दाता महिलाको स्वस्थ अण्डाणुको प्रयोग गरिन्छ। एक दशकअघि नै कानुनी मान्यता पाए पनि यस प्रविधिबाट जन्मेका बच्चाहरू पहिलो पटक निको नहुने ‘माइटोकन्ड्रियल रोग’बाट मुक्त भएको पुष्टि भएको छ।

यो रोग सामान्यतया आमाबाट बच्चामा सर्छ र यसले शरीरको ऊर्जा उत्पादन गर्ने कोषिकालाई नष्ट गरिदिन्छ। यसका कारण जन्मेको केही दिनभित्रै शिशुको मृत्यु हुन सक्छ वा शरीरका महत्त्वपूर्ण अंगहरूले काम गर्न छाड्छन्।

तीन व्यक्तिको डीएनए प्रयोग भए पनि यस प्रविधिबाट जन्मेका बच्चाहरूले आफ्नो ९९.९ प्रतिशत डीएनए आमाबुबाबाटै पाउँछन्। दाता महिलाबाट प्राप्त हुने केवल ०.१ प्रतिशत डीएनएले उनीहरूलाई रोगबाट बचाउँछ र यो सुरक्षा भावी पुस्तामा समेत हस्तान्तरण हुन्छ।

गोपनीयताका कारण परिवारहरूले आफ्नो पहिचान खुलाएका छैनन्, तर उनीहरूले उपचार सफल भएको ‘न्यूक्यासल फर्टिलिटी सेन्टर’ मार्फत खुशी व्यक्त गरेका छन्।

एक आमाले भनिन्, ‘वर्षौंको अनिश्चिततापछि यो उपचारले हामीलाई आशा दियो, र त्यही आशाले हाम्रो बच्चा दिलायो। उसलाई जीवन र उत्साहले भरिएको देख्दा हाम्रो मन कृतज्ञताले भरिन्छ।’

अर्की आमाले भनिन्, ‘यो अद्भुत प्रगति र हामीले पाएको मद्दतले हाम्रो सानो परिवार अब पूरा भएको छ। माइटोकन्ड्रियल रोगको बोझ हटेको छ र त्यसको ठाउँ आशा र खुशीले लिएको छ।’

के हो माइटोकन्ड्रियल रोग?
माइटोकन्ड्रियालाई कोषको ‘पावरहाउस’ वा ‘ऊर्जा घर’ भनिन्छ। यी हाम्रो शरीरका कोषहरूभित्र पाइने अति सूक्ष्म अंग हुन्, जसले हामीले खाएको खाना र अक्सिजनलाई ऊर्जामा बदल्छन्।

यदि माइटोकन्ड्रियाले ठीकसँग काम गरेन भने, शरीरले मुटु चलाउन, मस्तिष्क सक्रिय राख्न र अन्य अंगहरू सञ्चालन गर्न आवश्यक ऊर्जा पाउँदैन।

यसले मस्तिष्कमा क्षति, छारेरोग, आँखाको ज्योति गुम्ने, मांसपेशी कमजोर हुने जस्ता गम्भीर समस्या निम्त्याउँछ। यो रोग आमाबाट मात्र बच्चामा सर्ने भएकाले यो प्रविधिमा स्वस्थ माइटोकन्ड्रिया भएकी एक दाता महिलाको भूमिका महत्त्वपूर्ण हुन्छ।

कसरी काम गर्छ यो प्रविधि?
यो प्रविधि एक दशकभन्दा अघि न्यूक्यासल विश्वविद्यालयमा विकास गरिएको थियो। यसका विभिन्न चरणहरू हुन्छन्।

पहिलो चरणमा आमा र दाता महिला, दुवैको अण्डाणुलाई प्रयोगशालामा बुबाको शुक्रकीटसँग निषेचन गराइन्छ। शुक्रकीट र अण्डाबाट डीएनएले अंगहरूको जोडी नबन्दासम्म भ्रूणहरू विकास हुन्छन्। यो प्रक्रियालाई प्रोन्यूक्ली भनिन्छ। यसमा मानव शरीरको गठनको लागि जानकारी हुन्छ, जस्तै कपालको रंग र उचाइ।

तेस्रो चरणम दुवै भ्रूणबाट प्रोन्यूक्ली हटाइन्छ र आमाबाबुको डीएनए स्वस्थ माइटोकोन्ड्रियाले भरिएको भ्रूणमा प्रत्यारोपण गरी तयार भएको भ्रूणलाई आमाको पाठेघरमा राखिन्छ।

यस प्रक्रियाबाट जन्मेको बच्चा आनुवंशिक रूपमा आफ्ना आमाबाबुसँग सम्बन्धित हुन्छ तर माइटोकोन्ड्रियल रोगबाट पीडित नहुने अध्ययन बताउँछ।

‘न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित रिपोर्टअनुसार, न्यूक्यासल फर्टिलिटी सेन्टरमा २२ परिवारले यो प्रक्रिया अपनाएका छन् र अहिलेसम्म आठ बालबालिका (चार छोरा र चार छोरी) को जन्म भइसकेको छ।

एनएचएसका निर्देशक प्रोफेसर बबी म्याकफार्ल्यान्ड भन्छन्, ‘लामो प्रतीक्षा र डरपछि जब यी आमाबुबाको अनुहारमा राहत र खुशी देखिन्छ, त्यो अद्भुत अनुभव हुन्छ। यी बच्चाहरूलाई स्वस्थ र सामान्य रूपमा हुर्किरहेको देख्नु अत्यन्तै सन्तोषजनक छ।’

केही चिन्ता र भविष्यको आशा
यो प्रविधिमा केही मात्रामा खराब माइटोकन्ड्रिया पनि स्वस्थ भ्रूणमा सर्न सक्ने एउटा चिन्ता थियो। आठमध्ये पाँच बच्चामा यसको कुनै अवशेष पाइएन भने तीन बच्चामा ५ देखि २० प्रतिशतसम्म खराब माइटोकन्ड्रिया पाइयो। तर, यो मात्रा रोग लाग्न आवश्यक मानिने ८० प्रतिशतभन्दा निकै कम हो।

यो सफलताले किट्टो परिवारजस्ता हजारौँलाई आशा दिएको छ। परिवारकी १४ वर्षीया छोरी पप्पी यही रोगबाट पीडित छिन्। उनकी १६ वर्षीया दिदी लिलीलाई रोग नभए पनि उनी यसको वाहक हुन्, अर्थात् उनले जन्माउने बच्चामा यो रोग सर्न सक्छ।

लिली भन्छिन्, ‘यो प्रविधि आउने पुस्ताका लागि हो। अब मजस्ता मानिसहरूले आफ्ना सन्तान स्वस्थ जन्मिन्छन् र सामान्य जीवन बिताउन सक्छन् भन्ने आशा राख्न सक्छन्।’

बेलायतले सन् २०१५ मा यो प्रक्रियालाई कानुनी मान्यता दिएको थियो। केहीले यसले ‘डिजाइनर बेबी’ जन्माउने बाटो खोल्ने डर व्यक्त गरे पनि यो प्रविधि गम्भीर रोग रोक्न मात्र प्रयोग गरिँदै आएको छ।

न्यूक्यासल विश्वविद्यालयका प्रोफेसर सर डग टर्नबुल भन्छन्, ‘उत्कृष्ट विज्ञान, कानुनी मान्यता र स्वास्थ्य सेवाको सहयोगले आज हामीसँग माइटोकन्ड्रियल रोगबाट मुक्त आठ बच्चा छन्। यो साँच्चै एक शानदार उपलब्धि हो।’

बीबीसीको लेख नेपालीमा रुपान्तरण

साउन २, २०८२ शुक्रबार ०९:५०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।