तनहुँमा दुग्ध किसानलाई ९७ लाख रुपैयाँ अनुदान, उत्पादनमा उल्लेख्य वृद्धि

तनहुँमा दुग्ध किसानलाई ९७ लाख रुपैयाँ अनुदान, उत्पादनमा उल्लेख्य वृद्धि

दमौली : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तनहुँले जिल्लाका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न ९७ लाख ४१ हजार ५३४ रुपैयाँ अनुदान वितरण गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा उत्पादन भएको दूधको मूल्यमा आधारित रहेर ११ वटा सहकारीमार्फत किसानलाई उक्त रकम प्रदान गरिएको हो।

यो रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा दोब्बरभन्दा बढी हो। केन्द्रले सो वर्ष ४३ लाख ७३ हजार रुपैयाँ अनुदान वितरण गरेको थियो। उत्पादनका आधारमा अनुदान दिने नीतिले किसानहरू दुग्ध व्यवसायतर्फ आकर्षित भएको केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख रविनसन अधिकारीका अनुसार, किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर दूधमा ३ रुपैयाँका दरले अनुदान दिइएको हो। यस कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कुल ३२ लाख ४७ हजार लिटर दूधमा अनुदान उपलब्ध गराइएको उनले बताए।

‘स्थानीय तहले पनि अनुदान दिने ठाउँमा दोहोरो नपरोस् भनेर हामीले सचेतता अपनाएका छौं,’ अधिकारीले भने, ‘यो नीतिले जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन ठूलो मद्दत पुगेको छ।’

दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सुवास सापकोटाले अनुदान नीतिले किसानलाई ठूलो राहत मिलेको बताए।

‘यो नीतिले गर्दा पहिले थोरै दूध उत्पादन गर्ने किसानले पनि अहिले उत्पादन बढाउन जोड दिएका छन्’, उनले भने।

प्रमुख अनुदान पाउने सहकारी र रकम

  • दुम्सी दुग्ध उत्पादक सहकारी, व्यास-१०: रु. १७,५०,०००
  • याम्पा दुग्ध उत्पादक सहकारी, बन्दीपुर-५: रु. १६,६२,७८०
  • बेलबास दुग्ध उत्पादक सहकारी, व्यास-१३: रु. १५,१६,५३७
  • शुक्ला कृषि पर्यटन सहकारी, शुक्लागण्डकी-१०: रु. १०,३९,८६४
  • जयलक्ष्मी दुग्ध उत्पादक सहकारी, शुक्लागण्डकी-९: रु. १०,३०,३९८
  • गोहीटार कृषि सहकारी, देवघाट-५: रु. ८,२५,१७२
  • चिन्तुटार दुग्ध उत्पादक सहकारी, व्यास-५: रु. ५,५५,४२१
  • शेवर दुग्ध उत्पादक सहकारी, व्यास-१०: रु. ४,४४,९९८
  • चारकुने दुग्ध उत्पादक सहकारी, व्यास-१: रु. ३,५०,७८८
  • सूर्योदय दुग्ध उत्पादक सहकारी, बन्दीपुर-१: रु. २,९०,९८०
  • गौ सेवा दुग्ध उत्पादक सहकारी, शुक्लागण्डकी-७: रु. २,७४,५९०

केन्द्रले चालु आर्थिक वर्ष २०८१/८२ का लागि पनि दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै रु. १ करोड बजेट विनियोजन गरेको जनाएको छ।

साउन २, २०८२ शुक्रबार ०८:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।