‘देशमा भिखारी छैनन्, उनीहरू गरिब भएको नाटक मात्र गर्छन्’ भन्दा क्युबाकी मन्त्रीले दिनुपर्‍यो राजीनामा

‘देशमा भिखारी छैनन्, उनीहरू गरिब भएको नाटक मात्र गर्छन्’ भन्दा क्युबाकी मन्त्रीले दिनुपर्‍यो राजीनामा

एजेन्सी : क्युबाकी श्रम मन्त्री मार्टा एलेना फेतो क्याब्रेराले भिखारीहरूमाथि दिएको एक विवादास्पद बयानका कारण आफ्नो पदबाट राजीनामा दिनुपरेको छ। सोमबार संसदमा बोल्दै क्याब्रेराले भनेकी थिइन्, ‘क्युबामा कोही पनि भिखारी छैन, मानिसहरू गरिब भएको नाटक मात्र गर्छन्।’

मन्त्रीको यो भनाइ सार्वजनिक भएपछि जनतामा आक्रोश फैलियो। सरकारले आफ्नो पीडा र वास्तविक अवस्थालाई नबुझेको भन्दै मानिसहरूले उनको चर्को आलोचना गरे। क्युबाका राष्ट्रपति मिगुएल डियाज-क्यानेलले पनि संसदमा मन्त्रीको नाम नलिई उनको आलोचना गरेका थिए।

राष्ट्रपतिले भने, ‘सरकार संवेदनशील र जनतासँग जोडिएको हुनुपर्छ, वास्तविकताबाट अन्धो हुनुहुँदैन।’

राष्ट्रपतिको आलोचनाको लगत्तै क्याब्रेराले राजीनामा दिइन्, जसलाई पार्टीले तत्कालै स्वीकार गर्यो।

मन्त्रीले फोहोर उठाउनेलाई ‘कर छल्ने’ भनिन्
क्याब्रेराले संसदमा थप भनेकी थिइन्, ‘मैले भिखारी जस्ता देखिने धेरै मानिसहरूलाई देखेको छु, तर उनीहरूको लुगा र हात हेर्दा लाग्छ कि उनीहरू केवल भिखारी भएको नाटक गरिरहेका छन्।’

उनले सडकमा गाडीको सिसा सफा गर्नेहरूमाथि टिप्पणी गर्दै भनिन्, ‘उनीहरू आरामको जीवन बाँचिरहेका छन् र आफ्नो कमाइको ठूलो हिस्सा रक्सीमा खर्च गर्छन्।’

मन्त्रीले फोहोरबाट सामान खोज्नेहरूलाई पनि निशाना बनाउँदै उनीहरूले सजिलै पैसा कमाउन खोजिरहेको र कर छली गरिरहेको आरोप लगाइन्।

गहिरिँदो आर्थिक संकटमा क्युबा
क्युबा यस समय गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ। त्यहाँ खाद्यान्न, औषधि र इन्धनको चरम अभाव छ। यही कारण, अहिले धेरै वृद्धवृद्धाहरू सडकमा भीख माग्ने, फोहोर संकलन गर्ने वा गाडीको सिसा सफा गर्ने जस्ता काममा देखिन थालेका छन्।

अहिले अवस्था यति खराब छ कि एक सेवानिवृत्त व्यक्तिले करिब २,००० क्युबाली पेसो पेन्सन पाउँछन्, जुन कालोबजारीमा केवल ४३० भारतीय रुपैयाँ (करिब ६८८ नेपाली रुपैयाँ) बराबर हो। यो रकमले उनीहरूले एक क्यारेट अण्डा पनि किन्न सक्दैनन्।

विदेशमा आफन्त हुनेहरूले जेनतेन गुजारा चलाइरहेका छन् भने बाँकी मानिसहरू भोकै बस्न बाध्य छन्। स्थिति कति नाजुक छ भन्ने कुरा पछिल्लो पाँच वर्षमा देशको अर्थतन्त्रमा ११ प्रतिशतको गिरावट आएको तथ्यबाट पनि प्रष्ट हुन्छ।

साउन २, २०८२ शुक्रबार ०८:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।