७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने एमाले सचिवालय बैठकको निर्णय बहुमतले पारित

७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने एमाले सचिवालय बैठकको निर्णय बहुमतले पारित

काठमाडौं : एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव बहुमतले पारित गरेको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा  बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उपाध्यक्ष पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए

बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ। पोलिटब्युरो बैठक ११ः०० बजे बस्ने कार्यसूची छ।

पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले एउटा सदस्य तथा अर्काे सङ्गठित सदस्य भएको बताए।

यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्नेछ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ।

साउन २, २०८२ शुक्रबार ०७:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।