३२ लाख घुस प्रकरणमा जोडिएका भौतिक मन्त्री अधिकारीले बिचौलिया भेटेको स्विकारे, घुस लिएको स्विकारेनन्

३२ लाख घुस प्रकरणमा जोडिएका भौतिक मन्त्री अधिकारीले बिचौलिया भेटेको स्विकारे, घुस लिएको स्विकारेनन्

काठमाडौँ : पोखराको एक सय ३५ रोपनी जग्गा विवाद मिलाउन ३२ लाख घुस लिएको आरोप लागेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो प्रकरणमा जोडिएका बिचौलिया सुजन लामासँग भेट गरेको स्वीकार गरे।

जग्गा विवाद मिलाउन मालपोतको कर्मचारी मिलाउन मन्त्री अधिकारीले ३२ लाख लिएको लामाको अडियो उकेराले बुधवार सार्वजनिक गरेको थियो।

अधिकारीले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आफूले घुस नलिएको र अडियो चरित्रहत्या गर्ने मनसायले सार्वजनिक गरेको दाबी गरे पनि मालपोत कार्यालय कास्कीको प्रमुखको सरुवाको विषयमा लामासँग भेट भएको भने स्वीकार गरे।

पहिलो पटक उकेराले सार्वजनिक गरेको अडियोमा लामाले मालपोतको प्रमुख भन्दा पनि भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनको नियुक्तिको विषयमा भेटेको र मन्त्री अधिकारीले ‘तिमि त मेरो भाइ जस्तै। पुन नै हुनु पर्छ भनेको भए नियुक्ति गरिदिने’ बताएको उल्लेख छ।

तर मन्त्री अधिकारीले बिहीबार कास्की मालपोतको प्रमुखबाट रामचन्द्र अधिकारीको सरुवापछि लामाले आफूसँग भेटेको दाबी गरे।

'सुजन लामासँग मेरो भेट रामचन्द्र अधिकारीको सरुवा भइसकेपछि उसलाई थमाइदिनुपर्यो भनेर दुई-तीन जना मान्छे ल्याएर आउनुभएको थियो,' पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने, 'मैले सरुवा भएको कर्मचारी थमौती हुँदैन भनेँ।'

उनले भूमि समस्या समाधान आयोग कास्की अध्यक्षमा पुनको नियुक्तिको सम्बन्धमा लामासँग भेट नभएको दाबी गरे।

प्रारम्भमा यो घुस प्रकरणमा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ र लामाको कुराकानीको अडियो सार्वजनिक भएको थियो। त्यसको आधारमा गुप्ताले राजीनामा दिइसकेका छन्। सो अडियोमा पनि  गुप्ताले मन्त्री अधिकारीको नाम लिएका छन्।

बुधवार उकेराले सार्वजनिक गरेको अर्को अडियोमा लामाले मन्त्री अधिकारीसँगै सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत लिएका छन्।

उनले घूस प्रकरणमा मन्त्रालय र छोरालाई जोडेकोमा आपत्ति जनाउँदै त्यसमा आफ्नो कुनै सरोकार नभएको दाबी समेत गरेका थिए।

अडियोमा न्युजिल्यान्डमा बस्ने मन्त्री अधिकारीका छोरा मनोज नेपाल बाबुको लागि पैसा उठाउने काम गर्ने गरेको र उनी पोखरा गएर पैसा लिएर रामचन्द्रको सरुवा गराएको दाबी गरिएको छ। सचिवले पाँच लाख घुस खाएको दाबी गरिएको छ भने अधिकारीले ३२ लाख र मन्त्री गुप्ताले ३५ लाख खाएको दाबी गरिएको छ।

यो पनि : 

साउन १, २०८२ बिहीबार २३:४१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।