
प्रधानन्यायाधीश बन्ने महेन्द्रको प्रस्ताव लत्याएका कृष्णप्रसाद जो ९९ वर्षमा पनि लौरो टेक्दै अदालत धाउँछन्

कृष्णप्रसाद भण्डारी, उमेरले ९९ वर्ष लागे। विक्रम संवत् १९८४ सालमा तनहुँमा जन्मिएका उनी अझै पनि पढाइ लेखाइमा सक्रिय छन्। गत शनिबार उकेराको टिम उनको कार्यालयमा जाँदा उनी कृषि सम्बन्धी किताब पढिरहेका थिए।
५ दशक भन्दा बढी समयदेखि वकालतमा सक्रिय भण्डारी नेपाल ल क्याम्पसको पहिलो ब्याचका विद्यार्थी हुन्। २०१४ सालदेखि कानुनको अध्ययन पूरा गरी वकालत सुरु गरेका उनी विगत ८ वर्षदेखि खुट्टाको समस्या हुँदा पनि लौरोको सहारामा अदालतसम्म पुगेर बहस गरिरहेका हुन्छन्। पछिल्लो समय असार १६ गते उनी बहस गर्न सर्वोच्च अदालतको इजलास पुगेका थिए।
अर्थशास्त्रमा एम.ए. अध्ययन गरेका भण्डारीले नेपालको पानीजहाज अवधारणा र तमसुक फट्टा जस्ता महत्त्वपूर्ण आन्दोलनहरूमा अगुवाइ गरे। कम्युनिष्ट विचारधाराका भण्डारीले कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाको मुद्दा समेत लडे। नेपाली कानुन क्षेत्रमा उनलाई ‘गुरुका पनि गुरु’ मानिन्छ। नेपालका प्राय सबै राजनीतिक प्रणाली भोगेका भण्डारीले उकेरासँग आफ्ना अनुभव साटेका छन्।
गान्धीवादी म २००७ सालको क्रान्तिमा बन्दुकधारी भए
म बनारसमा हुर्किएको व्यक्ति हुँ। मेरो बुवाको उपाधि ‘आचार्य पास’ थियो। बनारसमा आचार्यहरू राजा जस्तै सम्मानित थिए। उनीहरूको आदेश सबैले मान्नुपर्थ्यो। नेपाली, मद्रासी, बंगाली सबै आचार्यहरूको शासन थियो। म त आचार्यको छोरा भएकाले तिनीहरूबाट विशेष माया पाउने नै भएँ।
त्यो बेला भारतमा गान्धीको शासन थियो। न्याय प्रणाली अत्यन्त राम्रो थियो। रेलमा कसैसँग झगडा भए वा बदमासी देखियो भने सोही ठाउँमा न्याय हुन्थ्यो। जनताले आफैं न्याय गर्थे। म पनि गान्धीको आन्दोलनमा सहभागी थिएँ।
जब मैले म्याट्रिक पास गरे, मेरो इच्छा फिलोसफी पढ्ने थियो। म नीतिशास्त्रको विद्वान भएँ, तर सोचे यसले जनताको भलो गर्छ कि गर्दैन ? त्यसैले म गान्धीको पछि लागेँ। नेता बिना राजनीति हुँदैन भन्ने विश्वासले म उहाँको पछि लागेको थिएँ। गान्धीको बारेमा सधैं पढ्ने-लेख्ने गर्थेँ।
कुनै उन्नती हुनु भनेको नेताको सोच र अर्थशास्त्रले हुन्छ। त्यसैले मैले राजनीतिशास्त्र र अर्थशास्त्र गहिरो गरी अध्ययन गरेँ। पछि अर्थशास्त्रमा एम.ए. गरेँ। त्यसपछि त्रिचन्द्र कलेजमा वाणिज्य पढ्न थालेँ, तर अर्थशास्त्र र वाणिज्यमा ठूलो फरक पाइन। एक वर्ष पढेर वाणिज्य छोडिदिएँ र काममा लागेँ।
म पनि गान्धीवादी थिएँ तर २००७ सालको क्रान्तिमा म बन्दुकधारी बनेँ। त्यो क्रान्तिमा ११ जना मारिए। मैले भनेको थिएँ ‘अहिंसाले काम चल्दैन।’ त्यहीबाट म बन्दुकधारी बनेँ। २००८ सालमा म कम्युनिष्ट भएँ। तर २०११ सालमा मेरो कम्युनिष्टसँग झगडा भयो।
मैले भने, ‘हामीलाई गोल्छाले पैसा दिने होइन, केडियाले पैसा दिने होइन, हामी आफैले मेहनत गर्नुपर्छ।’ त्यस विषयमा कुरा नमिलेपछि झगडा भयो।
ज्ञानेन्द्रको मूर्ख बुद्धि
२०२५ सालतिर मैले यो देशमा पानी जहाज ल्याउँछु भन्दा सबैजना हाँसे। मैले भनेँ, ‘अरे मूर्खहरू, पानी जहाज ल्याउन सकिन्छ।’ अमेरिकाले विभिन्न देशका टापु किन्दा हुन्छ, नेपालले किन्न नहुने भन्ने त होइन नि। त्यो यति राम्रो योजना थियो कि भारत, चीन, इजरायल, पाकिस्तानमा पनि जान सक्ने तरिकाले योजना बनाएको थिएँ। यी देशहरूमा हाम्रो मार्केटिङ हुन्थ्यो।
भारतलाई त्यो बेला सिमेन्टको निकै संकट थियो। मैले एउटा ठूलो व्यापारीलाई फोन गरेँ। उसले भर्खरै एउटा कम्पनी खोलेको थियो। सिमेन्टको ठेक्का उसैले लियो।
अर्थशास्त्रको विद्यार्थी भनेको त सिकारी हो नि। मैले सिन्धिया नेभिगेसन कम्पनी र इन्टर्न नेभिगेसनसँग कुरा गरेको थिएँ। त्यो बेला इन्डियामा कसैको पनि जहाज थिएन। मैले सिन्धिया नेभिगेसनसँग एप्रोच गरेँ। मैले भने, ‘तिम्रो भारतको जहाज चीनमा जाँदैन। पाकिस्तान, इजरायलमा पनि जाँदैन। तर मेरो नेपालको त सबै देशमा जान्छ।’ अनि उनीहरूले मानेका थिए।
जब सबै योजना भइसकेको थियो, मैले प्रोजेक्टको खाका दिएपछि ज्ञानेन्द्र शाहलाई लोभ लाग्यो, अनि खोसिदिए। बेइमानी गर्ने पक्षमा थिइँन म। त्यसैले मैले छोडिदिएँ। तर जब राजाले प्रोजेक्ट खोसे, त्यसपछि उनी पनि डुबे। किनभने त्यो मेरो सम्बन्ध थियो, अरूले गरेर हुन्छ त ?। सिन्धिया कम्पनी र म मिलेको थियौं, तर ज्ञानेन्द्रले गरेर त्यो स्वाहा भयो।
३ अर्ब डलर मैले ल्याउने कोशिश गरेको थिएँ, त्यो पनि स्वाहा गरिदिए। यो विषयमा म आफूलाई अभागी भन्छु। आज हामी ३ अर्बको जहाजको मालिक हुन्थ्यौँ।
सिन्धिया कम्पनीको बम्बैको मान्छे। उनले ३ अर्ब डलरको कुरा गरेका थिए। मैले ‘३ अर्बको कुरा नगर, पहिले १ अर्बबाट सुरु गरौं’ भनेको थिएँ। उनी मानेका पनि थिए।
अहिले निकै कठिन छ। अहिले प्रतिस्पर्धा छ भारतमै पनि। तर पहिले सजिलो थियो। मैले आफैंले गरेको थिएँ त्यो काम। पहिले त नेपालको पनि पानी जहाज भनेर सबै हाँसे नि।
महेन्द्रले प्रधानन्यायाधीश बनाउन खोज्दा अस्विकार
२०३६ सालमा मलाई गोरखामा मसालले रसियन एजेन्ट भनेर खुब कुटे। म नेकपा संयुक्त पार्टीको अध्यक्ष थिएँ। तर मैले धेरैको छोराछोरीलाई पठाइदिएको थिएँ। तर मलाई कुटे। मैले चुनाव समेत लडेँ। पञ्चायती व्यवस्था थियो। जनताको बीचमा जानु भनेकै ठूलो कुरा थियो। चुनाव लड्दा जनतासँग म प्रजातन्त्रवादी हुँ, कम्युनिष्ट हुँ भन्दा जनसमर्थन हुन्न थियो त।
त्यसलाई हामीले प्रयोग भन्छौँ। त्यसैले मलाई पार्टीले चुनावमा खडा गरेको थियो। त्यतिबेला मलाई मच्छेगाउँमा कुटे।
२०१८ साल भनेको कालरात्रि थियो। कसैले कल्पना नै गर्न सक्ने खालको थिएन त्यो बेला। २०५७ सालमा ज्ञानेन्द्रले गरेको जस्तै।
कोही बोल्न सक्ने अवस्था थिएन। तर म राजा महेन्द्रलाई खुब मान्छु। राजाको दुस्मन को ? वीपी कोइराला होइन त? तुलसी गिरी मन्त्रिपरिषदको उपाध्यक्ष थिए। उनले मलाई यो मान्छे विद्वान छ, यो मान्छे निडर छ, यसलाई चाहेको पद दिनु भने। अनिरुद्र प्रसाद सिंह कानुनमन्त्री थिए। उनले मलाई प्रधान न्यायालयमा (सर्वोच्च अदालत) न्यायाधीश बनाउने प्रस्ताव राखे।
मैले म त स्वतन्त्र मान्छे हुँ भनिदिए। तर मैले जागिर खाइन। किनभने त्यो बेला राजा महेन्द्र थिए। राजा महेन्द्रले मलाई प्रधान न्यायाधीश बनाउँथे। म प्रधान न्यायाधीश हुन्थेँ।
त्यसपछि सूर्यप्रसाद उपाध्याय, केशरजंग रायमाझी र विश्वबन्धु थापाहरूले अब हामी बाहिर बसेर संघर्ष हुँदैन, भित्रै पसेर पेल्नुपर्छ भन्ने नीति लिए। अनि त्यसमा कानुनी सल्लाह चाहियो, त्यसको लागि मलाई प्रस्ताव राखे। ‘ल तपाई खडा हुनु पर्छ निर्वाचनमा’ भनेर म खडा भएँ, जिते पनि। म त्यही बसेको भए मेरो प्रोफेसन अझ राम्रो हुन्थ्यो।
मलाई कीर्तिनिधि विष्टले खुब मान्ने। मैले उनलाई खोजी खोजी सल्लाह दिन्थेँ। “तिमीले यो गल्ती गर्यौ, यस्तो गर” भनेर पनि भनिदिन्थेँ। उनलाई सजिलो भयो नि त। उनले मलाई कानुनमन्त्री र उद्योगमन्त्री बनाउने धेरै कोशिश गरे। त्यो पनि खाइन । मैले जागिर खाएको भए घुस खान्थेँ, मन्त्री हुन्थेँ, धनी हुन्थेँ। मन्त्री खाइन तर १७ महिना जेल गएँ।
‘कपडा काण्डबाट कम्युनिष्ट भए’
२००८ सालमा म र विश्व बहादुर मानन्धर मिल्यौँ। विश्वबहादुर निकै धनी मान्छे हुन्, म पनि धनीकै छोरा थिएँ। विश्व बहादुर मानन्धर हामी भन्दा पनि बढी धनी थिए। आधा गौर उनैको थियो।
गणेशमान सिंह र तुलसीलाल अमात्य भारत बिहार सुन्धरपुरको घिउरखाप भन्ने गाउँमा बस्थे। त्यहाँको मुसलमानसँगको संगत थियो। उनीहरू प्रजातन्त्रवादी थिए। घिउरखापको मुसलमानले गणेशमानलाई आफ्नै गाउँमा बस्न भने। सबै खुवाउने पिलाउने त्यही गाउँले गरे।
हाम्रो रौतहटलाई बनाउन गणेशमान सिंहको ठूलो हात छ। अर्को भनेको रौतहटलाई कम्युनिष्ट बनाउन तुलसी लालको ठूलो हात थियो। उनीहरू गाउँ गाउँ घुम्थे। जनताले साथ दिन्थे। डर थिएन।
त्यो बेला पुलिसहरू त्यति थिएनन्। सबैको घरमा जाने, बस्ने गर्थे। त्यसकारण गणेशमान सिंहसँग हाम्रो खुब संगत भयो। २००८ सालमा गणेशमान उद्योग मन्त्री भएपछि उनलाई हाम्रो जिल्लामा ठूलो स्वागत गर्यौँ।
कपडा काण्ड भन्दै छु अब। त्यो बेला विदेशी मुद्रा थिएन। उतिखेरको उद्योग भनेकै कपडा थियो। भारत सरकारले आफ्नो देशमा कपडाको अभाव गरिदियो। अरु देशमा कपडा पठाउन थाल्यो डलरमा कारोबार गर्न। अब नेपाल त फरक देश पर्यो।
कानपुर र बम्बईका व्यापारीले नेपालगञ्ज, वीरगञ्ज, गौर र विराटनगरमा कपडाको कोठी खोले। नेपाल त विदेश पर्यो नि त। अब उनीहरूले नेपालबाट लुगा तस्करी गर्न थाले। गौरमा राख्यो भने इन्डियामा कपडा बेच्न पाइयो नि त।
हामीले गणेशमानलाई भनेर कपडा तस्करी गर्न सिल गरिदियौं। पछि व्यापारीहरूले सरकारलाई चन्दा दिने भए। त्यो चन्दाबाट ३ वटा अस्पताल बने। नेपालगञ्ज, वीरगञ्ज, विराटनगरमा कपडा काण्डबाट अस्पताल बनाए।
पछि सरकारले कपडा तस्करी रोक्न छोडिदियो। तर हामीलाई त्यो पैसा जनताको होइन ? छोडेर के पाएँ ? ३ वटा अस्पतालको लोभमा जनता ठग्ने ? भन्ने लाग्यो। अनि त्यहीँबाट विश्व बहादुर र म कम्युनिष्टतिर लागेका हौं।
म त अधिवक्ता। मेरो बुवा धनी थिए। विद्वान्, जनप्रिय थिए। एक मिनेट सुख पाएनन्, धनी भएर के गर्ने ? त्यही भएर म जबसम्म कम्युनिष्ट आउँदैनन्, तबसम्म सुख हुन्न भनेर कम्युनिष्ट भएको हुँ।
कानुनी शिक्षा र वकालत
कानुनी शिक्षामा आउनुमा तमसुक फट्टा आन्दोलनको हात छ। त्यो महत्वपूर्ण आन्दोलन थियो। २००९ सालमा हामीले तमसुक फट्टा आन्दोलन गर्यौ। हाम्रो जिल्लामा ३ जना भयङ्कर मान्छे थिए। मेरो बुवा (पशुपति भण्डारी), तुङ्ग शम्शेर, मानबहादुर मानन्धर निकै धनी थिए। जब छोराहरू नै आन्दोलनमा लागेपछि तमसुक च्यातिदिए। कुनै विरोध गरेनन्। यी ३ जना धनीले तमसुक फाडेपछि जिल्लामा तमसुक फट्टा आन्दोलनले लहर ल्याइदियो।
अर्को कुरा, म गान्धीको पछि लागेको मान्छे। मैले गाउँका साथीहरूको बुवालाई गएर भन्थे,‘ए छोरा पठा न’ भनेर। उनका बुवाहरूले ‘हे पढ्के कि होतै, भैंसी चरातै, छाली (दूधको तर) खातै, कुस्ती खेलतै’ भने। जब कम्युनिष्टहरू गाउँ गाउँ जाना थाले तब उनका बुवाहरूले , ‘अब यहाँ कम्युनिष्ट आउन थाले। सम्पत्ति काम लाग्दैन’ भन्ने सोचेर छोराछोरीलाई पठाउन थाले। विद्याको प्रचार भयो।
त्यो बेलामा हाम्रो आमाहरूले पनि १० रूपैँया, २० रूपैँया कर्जा लगाउँथे। आमाहरूसँग पनि पैसा हुन्थ्यो। एउटा खुशी के थियो भने मेरो बुवाले भाइहरू सबैलाई पढाउनु भयो। सबैले आइए, बीए पास गरेका। आमाहरूसँग पैसा लिन्थ्यौँ। जब आन्दोलन भयो तब आमाहरूसँग पनि पैसा हुने भएन। हामीलाई पैसा आउन बन्द भयो। अब सबैलाई छटपटी भयो। गौरमा चिया, मिठाइ खान पनि बन्द भयो।
त्यो बेला मेरो ससुरा काठमाडौंमा एसिस्टेन्ट कमिस्नर हुनुहुन्थ्यो। भाइहरूले मलाई दाजु नोकरी गर्नु पर्छ भनेर जोड गरे। उनीहरूलाई लिएर काठमाडौं आएँ। म बीए पास थिएँ, भाइहरू आइएसम्म पास गरेका थिए। म निर्वाचन अफिसर सुशिल कुमार सिंहकोमा गएँ। उनले निर्वाचन अफिसरमा जागिर खा भने, त्यो बेला न्याय सेवा जत्तिको तलब हुन्थ्यो। मलाई पनि ठिकै जस्तो लाग्यो। २ जनालाई खान र लाउन पुगिहाल्यो। तर २०११ सालमा भाई रामप्रसादले कलेज छोडिदियो।
निर्वाचन अफिसरको हैसियतले म नेपाल ल क्याम्पसमा पढेँ, पास पनि गरेँ र वकिल भएँ। २०१३ सालमा खुलेको ल क्याम्पसको पहिलो ब्याच हुँ। त्यसरी वकिल भएँ।
म पढ्नलाई निकै सौखिन मान्छे। अझै पनि म पढ्न रुचाउँछु। अहिले मात्रै सर्वोच्च अदालतले एउटा किताब निकालेको छ, ‘कसरी न्यायालय सुधार गर्ने’ भनेर। तर हाम्रो पालामा न्यायालय टप थियो। हरी प्रसाद प्रधानले राम्रो राम्रो २-४ वटा हाकिमलाई बोलाएर तिमीहरू वकिल बन भनेका थिए। उनीहरूलाई प्रधानन्यायाधीशले वकिल बन भनेपछि उनीहरू पढ्न लागे।
त्यो बेला न्यायाधीश र वकिल मिलेका थिए, पहिलो पुस्तामा। दोस्रो र तेस्रो पुस्ता मेरो। हामी त सोसल इन्जिनियर हो। हामीले समाजलाई पनि अघि बढाउनु पर्छ भन्ने हाम्रो सिद्धान्त हो। मलाई धेरैले साथ दिए। म त राजनीतिक व्यक्ति पनि थिएँ। मैले त्यो बेला न्याय खोज्न आउने मान्छेलाई ‘न्याय देउ’ भनेँ।
बेलायतमा नातावाद छ। बाउ ठूलो वकिल छ भने छोरो पनि ठूलो वकिल हुन्छन्। जस्तो म ठूलो वकिल भएँ भने मेरो छोरी ठूलो वकिल हुने नातावाद। तर हामीले उदारवाद ल्यायौँ। ‘म वकिल बन्छु’ भनेर कोही आयो भने हामीले सिकाउन थाल्यौँ। हामीले झगडियाको पछि लगाइदियौ। तर एउटा कुरा के हुन्छ भने झगडिया वकिलको संगत गर्न चाहन्छ। त्यसैले झगडिया पनि खुसी। किन भने वकिलसँग कुरा गर्न पाउँने भयो, वकिलले पनि झगडियाबाट केही न केही त सिक्न पाए नि। किताब बिनाको ज्ञान।
जति राम्रो मुद्दा हुन्थ्यो त्यो सिकारुलाई दिन्थ्यौं। तर फाइनल हुन्थेन, हामीलाई देखाएपछि मात्रै फाइनल हुन्थ्यो। यसमा गरिबले ठूला ठूला वकिलले तयार पारेको फिराद पाएपछि न्याय पाउँथे। यसरी हामीले सिकाउँथ्यौँ।
केआई सिंहलाई दुई वटा मुद्दा थियो। २०१५ सालमा निर्वाचन बहिष्कार गरेको र अर्को पञ्चायती व्यवस्था निरंकुश हो भनेर पर्चा बाँड्दै हिँडेको। सिंहलाई मुद्दा लाग्यो। त्यो मुद्दा मसम्म आइपुग्यो। तर गणेश आचार्यलाई लोभ लाग्यो, ‘मैले ल गर’ भने। केआई सिंहको मुद्दा भएकोले सबैले तारिफ गरिदिए। त्यसैले उनी ठूलो वकिल भए।
चार जनालाई मैले ठूलो बनाएँ। पहिलो लवदेव भट्ट। उनको जागिर सरकारले खोसिदियो। उनी काठमाडौंको सडकमा घुमिरहेका थिए। मैले ‘ए लवदेव, यता आउँ, तिमीलाई फिराद लेख्न आउँदैन। तिमीलाई म म्याद थाम्ने निवेदन सिकाइदिन्छु’ भनेँ। त्यो बेला ५ रूपैँया पाइन्थ्यो। ५ रूपैँयाले काठमाडौंमा खान पुग्थ्यो। उनी धेरै पढ्ने मान्छे। राम्रो विद्वानको संगत भयो अनि उनी टप ज्यारिस्ट भए।
दोस्रो लोकेन्द्र बहादुर चन्द्र (जो प्रधानमन्त्री समेत भए) लखनउमा बीए पास गरेर यहाँ इन्पेक्टरमा जागिर खान आएका थिए। इन्पेक्टर नभएर भूमिसुधारमा जागिर खान आए। पञ्चायती अफिसमा बसेका थिए। म र लवदेव गएका थियौं।
ती पहिला त राम्रो थिए। मैले ‘यो मान्छे विद्वान छ, ठिटो हो, यसलाई सिकाउनुपर्छ’ भने। अनि मैले ‘ए तिमी काठमाडौं बस्ने हो?’ भनेँ, उनले ‘बस्ने’ भने। मैले ‘तिमीलाई नेपाली कानुन आउँदैन, म कहाँ आउ’ भने। ५ महिना काम गरे, मैले धेरै कुरा सिकाएँ। उनी वकिल भए, पछि त प्रधानमन्त्री नै भए।
अर्को कृष्ण पन्त। उनी ठूलो विद्वान। उनले धेरै कुरा सिके। पछि बनारस गएर बसे। त्यहाँ उनको घर पनि थियो। अंकुरराज जोशीले मलाई भनेका थिए, ‘मेरो भाइ बिग्रियो’। उनले पनि मेरो ल फर्म आउने बित्तिकै राम्रो गरेका थिए।
वीपीले जबसम्म मेरो वकिल हुँदैन तबसम्म बयान गर्दिन भनेपछि...
वीपी कोइराला प्रधानमन्त्री हुँदा उत्तर शम्शेरको मुद्दामा १०-१२ जनालाई म कहाँ पठाइयो। जब कि वीपीका कांग्रेस वकिल पनि त थिए होला नि। तर म कहाँ पठाइदिए।
त्यो बेला पढेको मान्छे चाहिएको थियो। १०-१५ जना पढेका मान्छेलाई वीपीले सरकारी जागिर लगाइदिए। त्यसमा लोकसेवा आयोगले विरोध गरिदियो। लोकसेवा आयोगमार्फत नगरेर प्रधानमन्त्रीले नियुक्ति गरिदिने व्यवस्था भयो। तर वीपीले ‘आज मलाई मान्छे चाहिएको छ’ भनेपछि लोकसेवाले मानेन र बदर गरिदियो। त्यो बदरलाई मैले सदर गरिदिएँ।
अर्को कुरा, २०३३ सालमा वीपी जब नेपाल आउन लागेका थिए। मेरो कहिल्यै वीपीसँग कुरा भएन। पाकिस्तान र बंगलादेशको युद्ध थियो। त्यो बेला म पनि बंगलादेश गएँ। कृष्ण मुरारी पनि गएका थिए। त्यही हाम्रो कुरा भयो। वीपीले मलाई राम्रोसँग चिनेनन्। तर कुरा भयो।
२०३३ सालमा वीपी नेपाल आउन थालेपछि ‘त्यसलाई (वीपीलाई) मारिदिन्छ’ भनेका थिए। तर वीपीले भनेका थिए, ‘मेरो भण्डारी छ। भण्डारी मेरो वकिल हुन्, मार्न दिँदैन।’
आज कांग्रेस वकिलहरू छन्। पहिला पनि थिए तर कोही गए वीपीको मुद्दा लड्न ? म बाहेक कोही गएनन्। जेलमा भेट्न जाँदा विश्वश्वरकी श्रीमती सुशिला कोइराला र गणेशमानको श्रीमती जेलमा भेट्न पुगे। अरु कोही गएनन्। तर म त गएँ नि उनको मुद्दा लड्न।
वीपीले ‘जबसम्म मेरो वकिल हुँदैन तबसम्म म बयान गर्दिन’ भनेका थिए। गणेशराज शर्मा चाँही साढुभाइ हुन्, उनलाई लग्यो, उनी चाँही राजावादी हुन्। उनी त चिनेकै थिए। तर वीपीले मलाई भण्डारी चाहिन्छ भने। त्यसपछि इन्स्पेक्टर म कहाँ आए। उनले विश्वश्वरलाई साथ दिनुपर्छ भने। मैले ‘म अपराधीसँग जेलमा भेट्दिन। या मेरो अफिसमा आउनु पर्छ या अदालतमा जानु पर्छ’ भनेँ। अनि अदालतमा लगे।
कुशुम श्रेष्ठ र गणेशमानले सत्य बोले। वीपीले बन्दुक चलाएको होइन, कसैलाई बन्दुक दिएको पनि होइन। अनि मैले भनेँ, ‘नो, यु आर रेस्पोन्सीबल पर्सन।’ यो कुरा वीपीले किताबमा पनि लेखेका छन्। वीपीले माने, उनले भने, ‘मैले केही पनि गरेको छैन तर सबैको जवाफदेही म हो।’
म कीर्तिनिधि विष्टलाई धेरै मान्छु। जब चुनाव लड्दा राजाले रायमाझीलाई (केशरजंग) हराउन भनेका थिए। उनी निकै भिडे पनि, तर हराउन सकेनन्। विष्टले राजीनामा गरिदिए। राजाले किन राजीनामा दिएको भने। उनले ‘मैले सरकारको कुरा पूरा गर्न सकिन, नालायक भएँ’ भने।
२०३० सालमा सिंहदरबार जल्यो। उनले राजीनामा गरिदिए। राजाले भने, ‘तिमीले सिंहदरबार जलायौं ?’ उनले भने, ‘सरकार यो सारा सम्पत्तिको रेखदेख गर्ने मेरो काम हो। आज आगो लागेर स्वाहा भयो, यसको जवाफदेही कसको हो ? मैले हेर्नु पर्थ्यो, म नालायक होइन ?’ भनेर राजीनामा गरिदिए। आजका कोही नेताहरूले त्यसरी नैतिकता देखाएर राजीनामा गर्छन् ?
त्यो बेलाको स्वर्णिम न्यायालय
मैले धेरै ठाउँमा लेखेको पनि छु। २०२३ सालको न्यायालय यति राम्रो थियो कि हामी झगडा नीति भन्थ्यौँ। कस्तो थियो भने हामी बहस गर्न जान्थेउ, कुनै गल्ती भयो भने ‘के भनेको’ भनेर न्यायाधीशले नै गल्ती गरे गाली गर्थे। “भण्डारी, यो यो कानुन देख्दैनौ” भनेर भन्थे। म तिम्रो कुरा मान्दिनौ भन्ने, “किन मान्नु हुँदैन ? हेर्नुस् न किताब, नजिर हेर्नुस्” भनेर बहस गर्थ्यौं।
हामी न्यायधीशलाई झुकाउँथ्यौं। फेरी हामी होसियार पनि हुन्थ्यौं। किन भने गलत बहस गर्दा गाली गर्यो भने होसियार भैयो नि त। त्यसकारणले स्वर्णिम युग थियो।
२०४६ सालपछि न्यायालय स्वाहा भयो, बिचौलियाको राज चल्न थाल्यो। तेस्रो पुस्तासम्म ठीक थियो। २०४६ तिर चौथो पुस्ता आएपछि स्वाहा भयो। आज एउटा पनि विद्वान छैनन्। न्यायाधीश पनि घुस्याहा छन्, वकिलहरू पनि घुस्याहा। नातावाद, कृपावाद छ।
हामी बहसमाभन्दा पनि झगडा गर्थ्यौं। मैले गलत बहस गरेँ भने मलाई गाली गर्ने। हामीलाई किताब, नजिर पनि याद हुन्थ्यौं। न्यायाधीशलाई नै यो किताब हेर्नु भन्न सक्ने थियौं।
२०३३ सालको एउटा घटना सुनाउँछु। रामपुरमा काम गर्ने सुरज भन्ने थिए। सुरज मारियो भन्ने लागेको थियो। ७ वर्षपछि उनकी श्रीमती आइन्। मैले ‘तिम्रो लोग्ने मारिएको होइन’ भनेँ। उनले ‘यही सेन्टर जेलमा छ’ भनेपछि गएर भेटेँ।
सबै कागजपत्र निकाले र अदालत गएँ। तर उनलाई त छोड्ने बेला भइसकेको थियो। मैले उनलाई तिमी छुट्यौ भने तिम्रो सबै इज्जत जान्छ भने। किनभने राज्यले गल्ती नै नगरी थुनिदिएको थियो। अझ मैले श्रीमानलाई नै गएर ‘श्रीमान, त्यसलाई छोड्नु होला नि, नछोड्नुस्’ भने। त्यो सदर भयो। पछि राज्यले ‘निर्दोषलाई थुन्यो’ भन्ने भयो। उनको इज्जत समाजमा त रह्यो नि।
अर्को घटना पनि छ, ५-७ जना नेवीसंघका विद्यार्थीहरू जेलमा गए। भर्खरका केटाकेटीहरू थिए, उनीहरू आत्तिए। मैले उत्प्रेषण जाउँ भने समय लाग्ने भयो। मैले कारण देखाऊँ आदेश मागेँ। कतिले मलाई ‘तैले गल्ती गर्दैछस्’ भने। उत्प्रेषणमा जानुपर्ने थियो। मैले श्रीमानलाई भनेँ ‘हेर्नुस, अरु कानुनमा जाउँ भने ठूलो हुन्छ। मेरा बच्चा आत्तिन्छन्, त्यसैले कारण देखाऊँमा जाने’ भने। हामीले नजिर खोज्यौँ, बेलायतको नजिर रहेछ, त्यो नजिरले मुद्दा जितियो पनि।
साउन १, २०८२ बिहीबार २१:२३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।