विपद्‌मा पूर्वतयारी, चुस्त प्रतिकार्य र जनजागरणमा जोडदिन सरकारलाई दलहरूको सुझाव

विपद्‌मा पूर्वतयारी, चुस्त प्रतिकार्य र जनजागरणमा जोडदिन सरकारलाई दलहरूको सुझाव

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले विपद् व्यवस्थापनमा पूर्वतयारी, प्रभावकारी प्रतिकार्य र स्वयंसेवकीय भूमिकामा जोड दिन सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको अन्तर्क्रियामा मनसुन पूर्वतयारी, रसुवा हिमबाढी र समग्र विपद्‌ व्यवस्थापनका विषयमा दलहरुसँग छलफल गरिएको हो। कार्यक्रममा सहभागी नेताहरूले विपद्‌ जोखिम न्यूनीकरणका लागि जागरण अभियान, स्वयंसेवक परिचालन र राजनीतिक दलको सक्रियता अपरिहार्य रहेको बताए।

नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्यले विपद्‌पछि नागरिकले राज्यको उपस्थिति महसुस गर्न खोज्ने भएकाले तत्कालीन प्रतिकार्यलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिए। उनले स्थानीय तहलाई थप सक्षम बनाउँदै जानुपर्नेमा जोड दिए।

नेकपा एमालेका विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख खिमलाल भट्टराईले रसुवा बाढीमा सरकार, प्राधिकरण र सुरक्षाकर्मीको समन्वय प्रशंसनीय रहेको उल्लेख गर्दै उद्धार जनशक्तिलाई तालिम र उपकरणसहित सक्षम बनाइनुपर्ने धारणा राखे।

नेकपा माओवादी केन्द्रका विपद् व्यवस्थापन प्रमुख सूर्य सुवेदी ‘पथिक’ले राजनीतिक दललाई संस्थागत रूपमा विपद्‌ व्यवस्थापनमा संलग्न गराउन सरकार र प्राधिकरणले अग्रसरता लिनुपर्ने बताए। उनले प्राधिकरणलाई प्रधानमन्त्री कार्यालय मातहत राखी साधन(स्रोतसहित अधिकारसम्पन्न बनाउनुपर्ने धारणा राखे।

राष्ट्रिय स्वतन्त्र पार्टीका र्यापिड एक्सन टिम प्रमुख साजन शर्मा ‘प्रदीप’ले विपद्‌ व्यवस्थापनलाई नियमित कार्यतालिकाभित्र राख्नुपर्ने सुझाव दिँदै सूचना प्रणालीलाई चुस्त बनाउन र आवश्यक सामग्रीको भण्डारणमा लगानी बढाउन राज्यको ध्यानाकर्षण गराए।

राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले विपद्‌मा जनताले राज्यको अभिभावकत्व खोज्ने भएकाले पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रमान श्रेष्ठले विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा विपद्‌बाट जोगिने उपाय समावेश गर्नुपर्ने बताए। उनले सबै नागरिकले विपद्‌ प्रतिकार्यका तालिम लिन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

जनता समाजवादी पार्टीका प्रवक्ता तथा मधेश प्रदेश सांसद मनिष कुमार सुमनले मधेशमा सुक्खाका कारण अकालको अवस्था सिर्जना हुने खतरा औँल्याउँदै विपद्‌मा जनताले राजनीतिक कार्यकर्तामार्फत राहतको अपेक्षा गर्ने गरेकाले दलहरू जिम्मेवार हुनुपर्ने बताए।

नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रसुवा बाढीमा बर्दियाका पाँच युवा बेपत्ता भएको जानकारी दिँदै सीमा क्षेत्रमा बनेका बाँध समयमै नखोले टराईमा डुबानको समस्या बढ्ने भएकाले तत्काल पहल गर्न प्राधिकरणलाई आग्रह गरे।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नीतिगत अवरोध फुकाउन र राज्यको जिम्मेवारीलाई मजबुत बनाउन आफ्नो पार्टी तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी सबै नेताहरूले जोखिम हस्तान्तरणका लागि बीमा कार्यक्रम प्रभावकारी उपाय भएको उल्लेख गर्दै बीमा प्रणालीलाई विस्तार गर्नुपर्ने प्राधिकरणको प्रस्तावमा समर्थन जनाए।

कार्यक्रमका अध्यक्ष तथा प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेश भट्टले मनसुन प्रतिकार्यलाई मुख्य प्राथमिकतामा राखेर प्राधिकरणले पूर्वसूचना प्रणालीको सुदृढीकरण, स्वयंसेवक प्रशिक्षण, संरचनागत सुधार र पुनर्निर्माणमा काम गरिरहेको जानकारी दिए।

सहसचिव अर्जुन कुमार बमले रसुवा हिमबाढीपछिका प्रमुख प्रतिकार्य, पुनर्निर्माण र नीतिगत सुधारमा प्राधिकरणको अपेक्षा विषयमा प्रस्तुति दिएका थिए। 

साउन १, २०८२ बिहीबार १९:४१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।