
३२ लाख 'घुस' लिएको ‘अडियो रेकर्ड’ चरित्र हत्या गर्ने उद्देश्यले बाहिर ल्याएको मन्त्री अधिकारीको दाबी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको दाबी गरे।
उकेराले बुधवार सो अडियो सार्वजनिक गरेको थियो। अडियोमा मन्त्री अधिकारी, उनको छोरासहित तत्कालीन स्थानीय सचिवले घुस लिएको दाबी गरिएको थियो।
मन्त्रालयमा बिहीवार आयोजित वार्षिक समीक्षा पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले उक्त अडियो आफ्नो र परिवारको चरित्र हत्या गर्न सुनियोजित रूपमा सार्वजनिक गरिएको दाबी गरे।
उनले भने, ‘यस किसिमको अडियो सार्वजनिक गर्नुको उद्देश्य नै मेरो बदनाम गर्ने हो। मलाई बदनाम गर्न खोजिएको छ, तर म सत्यतथ्य छानबिनमा तयार छु।’
मन्त्रालय सम्हालेको एक वर्षमा आफूले भूमि व्यवस्था, सहकारी तथा भूमिसुधारमन्त्री अधिकारीले आवश्यक ऐन, नियम, कानुनसहित कार्यसंयन्त्र निर्माण गरी देश र जनताका पक्षमा राम्रो काम गरिरहेको मन्त्रीका विषयमा यस किसिमको अफवाह फैलाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सो ‘अडियो रेकर्ड’का विषयमा यथार्थ छानबिन होस् भन्ने पक्षमा आफू रहेको स्पष्ट पारे।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको एक वर्षको अवधिमा भूमि व्यवस्था, सहकारी र गरिबी निवारणका क्षेत्रमा धेरै राम्रा काम गरेको दाबी गर्दै उनले यसबीचमा भएका राम्रो कामको सरहना गरी धन्यवाद दिनुको सट्टा मन्त्रीकै चरित्रमाथि आँच पुर्याउने काम भएको भन्दै आपत्ती जनाए।
विवादित उक्त ‘अडियो रेकर्ड’ र जग्गा प्रकरणका सन्दर्भमा सत्यतथ्य समाचार बाहिर ल्याउन आमसञ्चरकर्मीसँग अनुरोध गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘चरित्र हत्या गर्ने उद्देश्यका साथ अडियो रेकर्ड सार्वजनिक भएको छ । आफूसहित परिवारका सदस्यलाई जोडेर सार्वजनिक गरिएको ‘अडियो रेकर्ड’का बारेमा यथार्थ छानबिन होस् । जिम्मेवार आमसञ्चारमाध्यमले पनि विषयको गहिराइमा पुगेर सत्यतथ्य समाचार सम्प्रेषण गरिदिनुपर्यो । त्यसमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु ।’
साउन १, २०८२ बिहीबार १८:११:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।