३२ लाख घुस लिएको अडियो बाहिरिएपछि मन्त्री अधिकारीले भने- म सलंग्नै छैन, चिनेकै छैन, बोलेकै छैन

३२ लाख घुस लिएको अडियो बाहिरिएपछि मन्त्री अधिकारीले भने- म सलंग्नै छैन, चिनेकै छैन, बोलेकै छैन

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेलमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। सञ्चारमाध्यममा सार्वजनिक भएको अडियोबारे आफू र मन्त्रालयसँग कुनै सम्बन्ध नरहेको उनको दाबी छ।

बिहीबार मन्त्रालयमा आयोजित एकवर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अडियोमा प्रयोग भएको भाषा, कुराकानी, व्यक्तिहरू कुनै पनि रूपमा आफू वा आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको दाबी गरे।

‘मैले अस्ति पनि भनिसक्या छु । म सलंग्नै छैन, चिनेकै छैन बोलेकै छैन । कुरा गरेकै छैन । त्यसमा कसैले केही आरोप लगाएर हुन्छ । भोलि गएर कसैले फलानालाई यसो गरिदिएँ भन्दा अर्कालाई यसो गरिदिएँ भन्दा अनि त्यसैलाई पत्याएर हिँडेर हुन्छ ? त्यस्तो भएपछि यहाँ को रहिरहन सक्छ,’  मन्त्रि अधिकारीले भने। 

बुधबार सार्वजनिक भएको अडियोमा सो जग्गा मिलाउनका लागि मन्त्री अधिकारीले ३२ लाख लिएको दाबी गरिएको छ। अडियोमा मन्त्री गुप्ता, अधिकारी र सचिव पोखरेलसहितका लागि डेढ करोड बढी रकम खर्च भइसकेको दाबी गरिएको छ।

अडियोमा भूमि व्यवस्था मन्त्री अधिकारीले ३२ लाख, गुप्ताले ३५ लाख र सचिव पोखरेलले पाँच लाख लिएको दाबी गरिएको छ। सो अडियोमा कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी समेत जोडिएका छन्।

अडियो संवादमा मन्त्री अधिकारीले मनोजमार्फत पैसा लिएको दाबी गरिएको छ। अडियोमा मन्त्रीका छोरा मनोज न्युजिल्याण्डमा बस्ने गरेको र बुबा मन्त्री भएर पछि नेपाल आएर पैसा उठाउने काम गर्ने गरेको उल्लेख गरिएको छ। मन्त्रालय अन्तर्गतको सरुवामा मन्त्रीका छोरा मनोजले पैसा लिएर काम गर्ने गरेको दाबी गरिएको छ।

अडियोमा भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनको नियुक्तिको प्रसङ्ग छ। मन्त्री अधिकारीसँग भेट्दा पहिला किन नआएको सुजन भाइ। खेम पुनमा अडान लिएको हो भने म गर्थेँ नि’ भनेर भनेको दाबी गरिएको छ।

अडियोमा मंगलबार राजीनामा दिएका सामान्य प्रशासन मन्त्री गुप्तासँगको अडियो संवाद समेत छ। सो अडियोमा जग्गा व्यक्तिको नाममा गर्न सक्रिय समूहका सदस्यले मन्त्री अधिकारीसँगको भेटको प्रसङ्गबारे गुप्तालाई बताउँदै ‘सामान्यले फालेपछि म काम गर्छु’ भनेको बताएका छन्।

तत्कालिन सचिव पोखरेल पोखराको नयाँबजारको होटलमा बस्दा दुई वटा वन कुखुरा, १० हजारको सामान, दुई बोतल ह्स्की र पाँच लाख रुपैँया दिएको अडियोमा दाबी गरिएको छ।

साउन १, २०८२ बिहीबार १७:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।