कुष्ठरोगले थलिएका धनवीर उपचारको पखाईमा

कुष्ठरोगले थलिएका धनवीर उपचारको पखाईमा

हुम्ला : सिमकोट गाउँपालिका-८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौदेखि कुष्ठरोगले पीडित छन्। रोग लागेकै कारण उनलाई परिवारले अलगै राखेको छ भने हाल उनी हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा छन्। तर अहिलेसम्म उनको उपचार हुन सकेको छैन।

नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाका मन्त्री अर्जुन बोहराका अनुसार धनवीरलाई करिब ६ वर्षअघि कुष्ठरोग लागेको हो।

कुष्ठ रोग लागेको सुरुका दुई वर्षसम्म हिँडडुल गर्न सक्ने हुँदा जिल्ला अस्पताल पुगेर आवश्यक उपचार गराएका थिए।

चार वर्षयता भने उनको  उपचार हुन सकेको छैन। आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार हुन नसकेको हो। कान कम सुन्ने उनी हिँडडुल गर्नै नसक्ने भएपछि शौच गर्न पनि घिस्रेर जाने गर्छन्। 

घरको छतमा सानो कोठा बनाएर राखिएको उनलाई झुत्रा कपडा ओढ्ने ओछ्याउने व्यवस्था गरिएको छ। उनका दुई भाइले एक एक महिनाको आलोपालोमा खानाको व्यवस्था गर्दै आएका छन्। 

कामीले आफूसँग इसारा गर्दै उपचारमा सहयोग गर्न आग्रह गरेको सोसाइटी हुम्ला शाखाका मन्त्री बोहराले बताए। आफैँ उपचार गर्न जाने अवस्था नभएका कामीलाई सहयोगी निकायको आवश्यकता छ।

कामीलाई सिमकोट गाउँपालिकाले अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ। तर हालसम्म कतैबाट सहयोग प्राप्त भएको छैन। 

साउन १, २०८२ बिहीबार १६:३५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।