
आजदेखि धरहरा १२ घण्टा खुल्ने

काठमाडौं : आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ। हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो। नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।
आजदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि खुला रहने उल्लेख गरे। यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिँदै आएकोमा आजदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने उनले जानकारी दिए।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो। गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा गरिएकामा सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको गुनासो गरेसँगै समयावधि थपिएको उनको भनाइ छ।
भूकम्पले क्षतिग्रस्त धरहरा पुनःनिर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट रु चार करोड ३३ लाख ९३ हजार ६५० राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ।
साउन १, २०८२ बिहीबार १६:०४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।