
पत्रकारिताको आवरणमा आपराधिक धन्दा : १२ लाख ८७ हजार नक्कली नोट र १६ किलोभन्दा बढी अफिम बरामद

सुर्खेत : सुर्खेतका एक व्यापारीले देखाएको सानो चलाखी र प्रहरीको ८ घण्टा लामो निरन्तरको अपरेसनले पत्रकारिताको आवरणमा सञ्चालित एक ठूलो आपराधिक सञ्जालको पर्दाफास गरेको छ।
प्रहरीले नक्कली नोट छाप्ने र लागुऔषध अफिमको कारोबारमा संलग्न आफूलाई पत्रकार भनेर चिनाउने मुख्य योजनाकारसहित ६ जनालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट १२ लाख ८७ हजार रुपैयाँ बराबरका नक्कली नोट, १६ किलो ३९२ ग्राम अफिम र नोट छाप्न प्रयोग हुने प्रिन्टर, कम्प्युटरलगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरी कार्यालयमा आएको त्यो कल...
असार ३० गते दिउँसो करिब साढे १ बजे जिल्ला प्रहरी कार्यालयमा आएको एउटा फोन आयो। सुर्खेतका एक व्यापारीले प्रहरीलाई फोन गरे, ‘सर, एकजना युवती नक्कली जस्तो देखिने हजारको नोट लिएर सामान किन्न आउनुभएको छ, तुरुन्तै प्रहरी पठाइदिनुपर्यो।’
ती व्यापारीले सामान किन्न आएकी युवतीलाई ‘एकैछिन बस्नुस्’ भन्दै चलाखीपूर्वक प्रहरीलाई खबर गरेका थिए।
गोप्य सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुधीरराज शाहीले डीएसपी मोहनजंग बुढथापाको नेतृत्वमा टोली परिचालन गरे। सूचना चुहिन नदिन र मिसनलाई प्रभावित हुन नदिन सादा पोशाकका प्रहरी पहिले नै उक्त पसलमा पुगिसकेका थिए।
लगत्तै पुगेको डीएसपी बुढथापासहितको टोलीले वीरेन्द्रनगर-१०, शान्तिटोलमा कोठा भाडामा बस्दै आएकी कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई नियन्त्रणमा लियो।
प्रारम्भिक सोधपुछमा आफूसँग एउटा मात्रै नक्कली नोट भएको दाबी गरेकी दिलमायाको शरीर खानतलासी गर्दा थप ६ वटा नक्कली नोट बरामद भए।
‘पक्राउ परेकी सिंहको बयान मात्र पर्याप्त थिएन,’ एसपी शाहीले भने, ‘हामीले करिब साढे चार घण्टा लगाएर विभिन्न चरणमा अनुसन्धान गर्दा थप व्यक्तिको संलग्नताको आधार फेला पर्यो।’
दिलमायाको बयानका आधारमा प्रहरीले सोही दिन उनको कोठामा छापा मार्दा सबैलाई चकित पार्ने गरी थप १२ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गर्यो। यही घटनाको कनेक्सन खोज्दै जाँदा प्रहरीले उनका दाजु, जाजरकोट कुशे गाउँपालिका-५ का ३३ वर्षीय रामबहादुर सिंहलाई पनि पक्राउ गर्यो।
दाजु-बहिनी पक्राउ परेपछि रामबहादुरले नक्कली नोटको कारोबारमा छिन्चुमा रहेका दुई व्यक्तिको नाम पोले। एसपी शाहीको प्रत्यक्ष सुपरीवेक्षणमा डीएसपी बुढथापा नेतृत्वको टोली रातारात छिन्चुतर्फ लाग्यो।
प्रहरीले भेरीगंगा नगरपालिका-१२ मा कोठा भाडामा बस्ने कुशे गाउँपालिका-७ का ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर विकलाई राति १० बजे पक्राउ गर्यो। उनीहरूको कोठाबाट ११ किलो ३७३ ग्राम अफिम बरामद भएपछि यो गिरोह नक्कली नोटसँगै ठूलो मात्रामा लागुऔषध कारोबारमा पनि संलग्न रहेको पुष्टि भयो।
रातभर नसुतेको प्रहरी टोलीले उनीहरूबाट मुख्य योजनाकार बाँकेको कोहलपुरमा रहेको सुराक पायो।
‘उनीहरूले मुख्य व्यक्ति कोहलपुरमा रहेको बयान दिएपछि डीएसपी बुढथापासहितको टोली मध्यरात नै कोहलपुरतर्फ लाग्यो’, एसपी शाहीले भने।
पत्रकारको धम्की र छापाखानाको पर्दाफास
इलाका प्रहरी कार्यालय कोहलपुरको समन्वयमा मंगलबार बिहानैदेखि निगरानीमा राखेर बिहान साढे ८ बजे कोहलपुर-११ न्यूरोडबाट मुख्य योजनाकार, कालिकोट नरहरिनाथ गाउँपालिका-४ का मनबहादुर सहकारीलाई पक्राउ गरियो। पक्राउ पर्नेबित्तिकै सहकारीले आफू पत्रकार भएको भन्दै डीएसपी बुढथापालाई ‘राम्रो नहुने’ भन्दै धम्क्याएका थिए।
तर, प्रहरीसँग बलियो प्रमाण थियो। सहकारीले ‘जनगर्जन नेटवर्क प्रा.लि.’ नामक मिडिया हाउसको आवरणमा यो धन्दा चलाइरहेका थिए। उनको कोठा र कार्यालयमा छापा मार्दा थप ५१ हजार नक्कली नोट, १९ ग्राम अफिम, र नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर, कम्प्युटर, कार्डरिडर, र क्यामेरा जस्ता उपकरणहरू बरामद भए। प्रमाण फेला परेपछि उनले नक्कली नोट आफैँले छाप्ने गरेको स्वीकार गरे।
प्रहरीका अनुसार, सहकारीले अवैध कारोबारमा प्रयोग गर्दा शंका भएमा छाडेर भाग्न सजिलो हुने र छिट्टै पक्राउ नपर्ने उद्देश्यले नक्कली नोट छाप्ने गरेको बयान दिएका छन्। यो गिरोहले बजारमा करिब दुई लाख रुपैयाँको नक्कली नोट सक्कली नोटसँग साटिसकेको प्रहरीको प्रारम्भिक अनुमान छ।
पक्राउ परेका सबैलाई लागुऔषध तथा खोटा चलन (जाली नोट) मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ भने प्रहरीले आम नागरिकलाई कारोबार गर्दा सचेत रहन अनुरोध गरेको छ।
साउन १, २०८२ बिहीबार १३:२२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।