
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृत्यु, दाजु गम्भीर घाइते

इलाम : इलामको सूर्योदय नगरपालिकामा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ भने उनका दाजु गम्भीर घाइते भएका छन्। प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ।
माईजोगमाई गाउँपालिका-२, तारसिंङका २१ वर्षीय प्रकाश चापागाईको हत्या भएको हो।
सूर्योदय नगरपालिका-१, भालुखोपस्थित ससुराली घरमा दाजु निरोज चापागाईसँगै आएका प्रकाशमाथि आक्रमण हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आक्रमणमा परी मृतकका दाजु ३२ वर्षीय निरोज गम्भीर घाइते भएका छन्। उनको फिक्कल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापा पठाइएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको टोलीले हत्या आरोपमा सूर्योदय नगरपालिका-१, सिरिसेका ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति नै पक्राउ गरेको छ।
पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ। घटनाको कारण भने खुल्न सकेको छैन।
साउन १, २०८२ बिहीबार १२:४२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।