रास्वपाको नामबाट ‘स्वतन्त्र’ र चुनाव चिन्ह ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

रास्वपाको नामबाट ‘स्वतन्त्र’ र चुनाव चिन्ह ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाममा रहेको ‘स्वतन्त्र’ शब्द र चुनाव चिन्ह ‘घण्टी’ लाई संशोधन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।

आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएका युवराज सफलले आज आयोगमा निवेदन दर्ता गराउँदै पार्टीको नाम र चुनाव चिन्ह दुवैले कानुनी र नैतिक प्रश्न खडा गरेको दाबी गरेका छन्।

निवेदक सफलले रास्वपाको नाममा ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन्।

‘कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित हुन्छ, तसर्थ दल आफैँमा स्वतन्त्र हुन सक्दैन,’ निवेदनमा भनिएको छ, ‘यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरूको हक खोसेको छ।’

उनले यसलाई मतदाताको आँखामा छारो हालेर भोट बटुल्ने रणनीति भएको आरोप लगाउँदै पार्टीको नामबाट तत्काल 'स्वतन्त्र' शब्द हटाउन माग गरेका छन्।

त्यसैगरी, निवेदनमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’प्रति पनि गम्भीर आपत्ति जनाइएको छ। ‘घण्टी’ नेपालका बहुसंख्यक हिन्दु धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको धार्मिक प्रतीक भएकोले यसलाई राजनीतिक दलको चुनाव चिन्ह बनाउनु धार्मिक मान्यतामाथिको प्रहार भएको सफलको जिकिर छ।

‘हिन्दु धर्मावलम्बीले पूजापाठमा प्रयोग गर्ने पवित्र घण्टीलाई चुनाव चिन्ह बनाएर यसको राजनीतिक दुरुपयोग गरियो,’ निवेदनमा उल्लेख छ, ‘धर्म निरपेक्ष मुलुकमा कुनै एक धर्मको आस्थाको प्रतीकलाई दलको चिन्ह बनाउन मिल्दैन।’

सफलले निर्वाचन आयोगकै पूर्व निर्णयलाई समेत आधार बनाएका छन्, जसमा राष्ट्रिय पहिचान बोकेका चिन्हहरू (राष्ट्रिय झण्डा, फूल, जनावर, नक्सा आदि) र धार्मिक आस्थाका प्रतीकहरूलाई दलको चुनाव चिन्हका रूपमा प्रदान नगर्ने उल्लेख छ। यदि कुनै दलले त्यस्तो चिन्ह प्राप्त गरेको भए पुनरावलोकन गर्ने आयोगको निर्णयलाई कार्यान्वयन गर्न पनि उनले माग गरेका छन्।

उनले  तत्कालीन अमेरिकी नागरिक रवि लामिछानेको नेतृत्वमा दर्ता भएको दलको वैधानिकतामाथि समेत सांकेतिक प्रश्न उठाएका छन्। उनले आयोगले खारेज नगरे सर्वोच्च अदालत जाने समेत बताएका छन्।

साउन १, २०८२ बिहीबार १२:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।