
दाग मेटाउने अवसरको खोजीमा त्रिवि मैदान छिरेका आदिल (तस्बिरहरू)

कीर्तिपुर : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको वातावरण बुधबार सामान्यभन्दा केही फरक थियो। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३२ जना खेलाडी आफ्नो नियमित अभ्यासमा व्यस्त थिए।
तर, सबैको नजर एउटा यस्तो अनुहारमा अडिएको थियो, जो करिब तीन वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा छनोट भई मैदान फर्किएका थिए- मोहम्मद आदिल आलम।
स्पट फिक्सिङको आरोपपछि राष्ट्रिय क्रिकेटबाट टाढा बनेका आदिलका लागि यो पुनरागमन एक सामान्य प्रशिक्षण मात्र थिएन, यो उनको अग्निपरीक्षाको पहिलो चरण पनि थियो।
करिब तीन वर्षको लामो पर्खाइपछि जब आदिलले राष्ट्रिय टोलीको प्रशिक्षण किट लगाए, त्यो क्षण उनका लागि निकै भावुक क्षण रह्यो। अदालतको सफाइ र क्यानको प्रतिबन्ध फुकुवा गरे पनि आम समर्थक र क्रिकेट वृत्तको नजरमा आफूलाई निर्दोष साबित गर्ने सबैभन्दा ठूलो प्लेटफर्म आदिलका लागि यही थियो।
प्रशिक्षक स्टुअर्ट लको निर्देशन सुनिरहँदा होस् वा सहकर्मीसँग हल्का ठट्टा गर्दा, आदिल गम्भीर रहन्थे। उनी यहाँ केवल प्रशिक्षण गर्नु मात्र थिएन, आफ्नो गुमेको विश्वास र प्रतिष्ठासँगै राष्ट्रिय टोलीमा पुनरागमन पनि गर्नु थियो।
आदिलको पुनरागमनको खबरले नेपाली क्रिकेटमा एक किसिमको तरङ्ग पैदा गरेको छ। केहीले प्रश्न उठाएका छन्- ‘के यति छिट्टै उनलाई मौका दिनु ठीक हो?’ तर, उनका समर्थकहरू भन्छन्- ‘गल्तीपछि सुध्रिने मौका सबैले पाउनुपर्छ।’
घरेलु क्रिकेटमा उनले दिएको प्रदर्शनले दोस्रो तर्कलाई बलियो बनाएको छ। प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रतियोगितामै उनले जसरी आक्रामक ब्याटिङ र अलराउन्ड प्रदर्शन गरे।
यो पुनरागमन आदिलका लागि व्यक्तिगत मात्र होइन, यसले नेपाली क्रिकेटको संस्कारलाई पनि प्रतिबिम्बित गर्छ। गल्ती गर्नेलाई पन्छाइरहने भन्दा पनि पश्चाताप र सुधारको अवसर दिने प्रणाली विकास हुँदैछ भन्ने यो एउटा उदाहरण हो।
तर, प्रारम्भिक टोलीमा पर्नु अन्तिम यात्रा होइन। यो त केवल ढोका खुल्नु मात्र हो। अन्तिम १५ मा स्थान बनाउन उनले प्रशिक्षणमा आफूलाई उत्कृष्ट मात्र होइन, सबैभन्दा विश्वसनीय खेलाडीका रूपमा स्थापित गर्नुपर्नेछ। विगतको दाग मेटाउन उनले आफूलाई अब्बल साबित गर्नुपर्नेछ।
आदिल आलमको क्रिकेट यात्रा अब नयाँ मोडमा छ। विगत उनको परिचयको एक हिस्सा रहला, तर भविष्य उनकै हातमा छ। उनले अब हरेक बल र हरेक रनमार्फत आफ्नो नयाँ कथा लेख्नुपर्नेछ। कीर्तिपुरको मैदानमा बगेको उनको पसिनाले त्यो कथाको पहिलो अध्याय लेख्न सुरू गरिसकेको छ।
साउन १, २०८२ बिहीबार १२:०४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।