
अभिनेत्री मनिषा कोइरालालाई ब्राडफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि

काठमाडौं : नेपाली चलचित्रकी ख्यातिप्राप्त अभिनेत्री मनिषा कोइरालालाई बेलायतको प्रतिष्ठित ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डक्टरेट) उपाधि प्रदान गरेको छ। विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
कोइरालाले मंगलबार सामाजिक सञ्जालमार्फत सम्मान ग्रहण गरेको भिडियो सार्वजनिक गर्दै आफ्नो जीवनको यात्रा औपचारिक शिक्षाभन्दा फरक रहेको बताएकी छन्।
उनले लेखेकी छन्, ‘आज मैले ब्राडफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेकी छु। म यहाँ परम्परागत शिक्षाको बाटोबाट नभई जीवन, कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै अघि बढेको व्यक्तिको रूपमा उभिएकी छु।’
उनले आफूले पाएको सम्मान शब्दमा व्यक्त गर्न सकिनेभन्दा धेरै अर्थपूर्ण रहेको उल्लेख गरेकी छन्।
‘यसले देखाउँछ कि तपाईंको यात्रा महत्त्वपूर्ण हुन्छ, तपाईं कहाँबाट सुरु गर्नुहुन्छ भन्ने कुराले अर्थ राख्दैन,’ उनले थपेकी छन्, ‘मेरो जीवनको कथालाई मूल्य दिनुभएकोमा ब्राडफोर्ड विश्वविद्यालयप्रति आभारी छु।’
बलिउडमा सफल अभिनेत्रीको पहिचान बनाएकी कोइरालाले लामो समय क्यान्सरसँग पनि संघर्ष गरिन्। क्यान्सरलाई जितेर स्वास्थ्य लाभ गरेपछि उनी पुनः अभिनयमा सक्रिय छिन्। उनले नेपाली तथा हिन्दी चलचित्रमा अभिनय गरेकी छन्।
हालै उनी सञ्जय लीला भन्सालीद्वारा निर्देशित चर्चित वेब सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’मा महत्त्वपूर्ण भूमिकामा देखिएकी थिइन्।
पछिल्लो समय कोइराला नेपालको राजनीतिक गतिविधिमा पनि चासो राख्दै आएकी छन्।
राजतन्त्रको पक्षमा वकालत गर्दै आएकी उनी केही समयअघि सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानमा सहभागी भएकी थिइन्।
साउन १, २०८२ बिहीबार ११:०१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।