
‘शिरीषको फूल’की सकम्बरी बन्न सक्लिन् त सनिशा?

काठमाडौं : गीतको भिडियोमा मोडलिङ हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन् सनिशा भट्टराई। उनले अभिनय गरेका ‘१२ गाउँ’ र ‘नरसिंहाः अवतार’मध्ये ‘१२ गाउँ’ व्यावसायिक रूपमा सफल भयो।
तर, पहिलो फिल्ममा विराज भट्टका छोरा समिर र दोस्रोमा महानायक राजेश हमालको चर्चाले उनको अभिनय ओझेलमा पर्यो। डेब्यु फिल्म सफल भए पनि त्यसले सनिशाको चर्चा चुल्याउन सकेन। दुवै फिल्मले उनलाई अभिनेत्रीका रूपमा स्थापित गराउन सकेनन्।
उनले यी दुवै फिल्ममा अभिनय गर्दा न कुनै औपचारिक प्रशिक्षण लिएकी थिइन्, न त अभिनय कार्यशालामा सहभागी भएकी थिइन्। सुन्दर मुहार र म्युजिक भिडियोको लोकप्रियताकै आधारमा उनले फिल्ममा अवसर पाएको तर अभिनयले दर्शकलाई छुन नसकेको टिप्पणी हुने गरेको छ।
फिल्ममा अपेक्षित सफलता नमिलेपछि सायद आफूलाई अभिनयमा निखार्न यतिखेर उनी नाटकको रिहर्सलमा व्यस्त छिन्। कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘शिरीषको फूल’को मुख्य पात्र सकम्बरीको भूमिकामा उनी देखिँदैछिन्।
अभिनयमा परिपक्व भइनसकेकी सनिशालाई यति गहकिलो भूमिका दिनुलाई कान्तिपुर थिएटरको ‘रिस्क’ मानिएको छ। यो नाटकका लागि आठ वर्षपछि अमेरिकाबाट फर्किएका अभिनेता जीवन लुइँटेलसँग उनले मञ्च साट्दैछिन्।
पारिजातको कालजयी उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’मा सकम्बरीको चरित्र निर्वाह गर्नु सहज छैन। पारिजातले वि.सं. २०२२ ताकाको काठमाडौंमा परिकल्पना गरेकी सकम्बरी २२-२३ वर्षकी, तर आफ्नो समयभन्दा निकै अगाडि सोच्ने युवती हुन्।
करिब ५ फिट २ इन्च उचाइ, दुब्लो पातलो शरीर, आँखामा चस्मा, छोटो कपाल, सुन्दरताप्रति उदासीन र चुरोट पिउने उनको चरित्र छ। उनी पुरुषहरूसँग दूरी बनाउन खोज्ने, तर वैचारिक रूपमा पुरुष समान निडर र उमेरभन्दा बढी परिपक्व पात्र हुन्।
यस्तो विद्रोही र बौद्धिक चरित्रमा सनिशाले आफूलाई ढाल्न सक्लिन् त? उपन्यास पढेका दर्शकले कल्पना गरेको सकम्बरीलाई सनिशाको अभिनयमा भेट्टाउन सक्लान्? यदि उनले यो भूमिकालाई न्याय गर्न सकिन् भने उनको अभिनय यात्रामा यो कोशेढुङ्गा साबित हुनेछ।
तर, केवल चर्चाका लागि मात्र उनलाई यो भूमिका दिइएको हो भने पारिजातको अमर कृति ‘शिरीषको फूल’को अपमान हुनेछ र यो कालजयी सिर्जना मञ्चमा एउटा मजाक बन्न पुग्नेछ। यसको उत्तर त साउन ८ गते नाटक मञ्चन भएपछि नै मिल्नेछ।
साउन १, २०८२ बिहीबार १०:४७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।