
२८ वर्षपछि इटाली महिला युरोको सेमिफाइनलमा, गिरेली बनिन् नायक

एजेन्सी : क्रिस्टियाना गिरेलीको दुई गोलको मद्दतमा नर्वेलाई २-१ ले पराजित गर्दै इटाली २८ वर्षपछि महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको अन्त्यतिर गिरेलीले गरेको निर्णायक गोलसँगै इटालीले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो। यो जितसँगै इटाली सन् १९९७ पछि पहिलो पटक युरोको सेमिफाइनलमा पुगेको हो। त्यसबेला इटाली फाइनलमा जर्मनीसँग पराजित भएको थियो।
१३औँ वरीयताको इटाली र १६औँ वरीयताको नर्वेबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५०औँ मिनेटमा गिरेलीले गोल गर्दै इटालीलाई अग्रता दिलाएकी थिइन्। तर, खेलको ६६औँ मिनेटमा नर्वेकी स्टार खेलाडी एडा हेगरवर्गले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन्।
निर्धारित समय सकिन केही मिनेट मात्र बाँकी रहँदा गिरेलीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरिन् र इटालीको ऐतिहासिक जित सुनिश्चित गरिन्।
यो खेलमा दुई गोल गरेसँगै ३५ वर्षीया गिरेली महिला युरोको एकै खेलमा दुई गोल गर्ने सबैभन्दा बढी उमेरकी खेलाडी बनेकी छिन्। युभेन्टसबाट व्यावसायिक फुटबल खेल्ने फरवार्ड गिरेलीले इटालीका लागि आफ्नो गोल संख्या ६१ पुर्याएकी छन्।
अब इटालीले फाइनल प्रवेशका लागि मंगलबार हुने इंग्ल्यान्ड र स्वीडेनबीचको क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
साउन १, २०८२ बिहीबार ०८:२३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।