हसिनाको गृहनगरमा हिंसा : प्रहरीको गोली लागेर चार जनाको मृत्यु, २२ घण्टे कर्फ्यू जारी

हसिनाको गृहनगरमा हिंसा : प्रहरीको गोली लागेर चार जनाको मृत्यु, २२ घण्टे कर्फ्यू जारी

एजेन्सी : बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार युवाहरूको नेतृत्वमा रहेको नेसनल सिटिजन पार्टी (एनसीपी) को एक र्यालीमा हिंसा भड्किएको छ। हिंसाका क्रममा प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको गृहनगर हो।

बंगलादेशको समाचार संस्था ‘प्रथम आलो’का अनुसार, एनसीपीको र्यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लिगका समर्थकहरू र प्रहरीबीच झडप भएको थियो। प्रत्यक्षदर्शीहरूले बताएअनुसार, अवामी लिगका समर्थकहरूले लाठी, ढुङ्गा र इँटाले प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए।

प्रदर्शनकारीहरूले प्रहरी र स्थानीय प्रशासनिक प्रमुखका गाडीहरूमा पनि तोडफोड गरेका थिए। साथै, एनसीपीको जुलुसमाथि पनि आक्रमण गरेपछि सुरक्षाकर्मीले गोली चलाउनुपरेको थियो। भीडलाई तितरबितर पार्न सुरक्षा बलले अश्रुग्यास र साउन्ड ग्रेनेड पनि प्रहार गरेको थियो।

हिंसामा मारिएकामध्ये तीन जनाको पहिचान दिप्तो साहा (२५), रमजान काजी (१८) र सोहेल मोल्ला (४१) को रूपमा भएको छ। चिकित्सकहरूका अनुसार उनीहरूलाई घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरियो।

हिंसाका बाबजुद एनसीपीको र्याली, गोपालगञ्जमा २२ घण्टे कर्फ्यू
हिंसाका घटनाका बाबजुद एनसीपीले गोपालगञ्जमा आफ्नो र्याली सम्पन्न गरेको छ। नेताहरूले क्षतिग्रस्त मञ्च र तोडफोड गरिएका साउन्ड सिस्टमबाटै भाषण दिए। एनसीपीका संस्थापक तथा संयोजक नाहिद इस्लामले र्यालीको अध्यक्षता गर्दै भने, ‘यदि सुरक्षा निकायले हामीलाई न्याय दिएन भने हामी आफैं न्याय लिनेछौं।’

एनसीपीका नेता सर्जिस आलमले एक फेसबुक पोस्टमा लेखेका छन्, ‘गोपालगञ्जमा हत्यारा हसिनाका गुण्डाहरूले हामीमाथि आक्रमण गरे। प्रहरी भने पछि हटेर रमिते मात्र बन्यो।’

यसैबीच, बंगलादेशका मुख्य सल्लाहकार मुहम्मद युनुसको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि २२ घण्टाका लागि कर्फ्यू लगाउने आदेश दिएको छ। सुरक्षाका लागि अर्धसैनिक बल ‘बोर्डर गार्ड बंगलादेश’ (बीजीबी) का करिब २०० सैनिक तैनाथ गरिएको छ।

बंगलादेशमा एनसीपी एक नयाँ र उदाउँदो राजनीतिक दल हो, जसको गठन सन् २०२४ फेब्रुअरी २८ मा भएको थियो। यसलाई विद्यार्थीहरूले नेतृत्व गरेको पहिलो राजनीतिक दल मानिन्छ र यसले अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसलाई समर्थन गरेको छ।

र्याली रोक्नु मौलिक अधिकारको हनन हो : युनुस
मुख्य सल्लाहकार मुहम्मद युनुसले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै घटनाको निन्दा गरेका छन्।

उनले भनेका छन्, ‘आफ्नो क्रान्तिकारी आन्दोलनको वार्षिकोत्सव मनाउन युवाहरूले गरेको शान्तिपूर्ण र्यालीलाई रोक्नु उनीहरूको मौलिक अधिकारको लज्जास्पद उल्लङ्घन हो।’

युनुसले हिंसाका लागि हसिनाको अवामी लिग पार्टी र त्यसको विद्यार्थी संगठनलाई जिम्मेवार ठहराएका छन्।

उनले थपे, ‘अपराधीहरूलाई जतिसक्दो चाँडो पहिचान गरी पूर्ण रूपमा जवाफदेही बनाउनुपर्छ। बंगलादेशका कुनै पनि नागरिकविरुद्ध यस्तो हिंसाका लागि कुनै ठाउँ छैन। हामी ती विद्यार्थीहरूको साहसको प्रशंसा गर्छौं, जसले यस्ता दुर्भावनापूर्ण धम्कीका बाबजुद आफ्नो र्याली जारी राखे।’

साउन १, २०८२ बिहीबार ०८:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।