घुस संवादपछि मन्त्रीबाट राजीनामा दिएका गुप्ताको नयाँ अडियो : पशुपतिनाथ र छोराको कसम खाँदै बिचौलियालाई भने “तपाईँको समस्या मेरो समस्या हो, आइहाल्नुस्”

काठमाडौं : पोखराको एक सय ५० रोपनी बढी जग्गा बिचौलियाको स्वार्थमा व्यक्तिको बनाउने प्रकरणमा भएको घुस काण्डको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अर्को नयाँ अडियो फेला परेको छ।
राजीनामाको घोषणा गर्दै फेसबुकमा लेख्दा उनले नखाएको विष लागेको दाबी गरेका थिए। तर दोस्रो अडियोमा पनि जग्गा मिलाउने विषयमै कुराकानी गरेको सुनिन्छ।
मालपोतको कर्मचारी मिलाएर सो जग्गाको लालपुर्जा बनाउन संलग्न व्यक्तिसँग गुप्ताले गरेको कुराकानीमा उनले पशुपतिनाथ र आफ्नो छोराको कसम खाएर बिचौलियाको समस्या आफ्नो समस्या भएको बताएका छन्।
पोखरामा रहेका बिचौलिया र काठमाडौँमा रहेका तत्कालीन मन्त्री गुप्ताबीचको कुराकानीमा मन्त्री गुप्ताले भनेका छन् ‘पशुपतिनाथको कसम खाएर भनीराछु, छोराको कसम खाएर भनिराछु।
उनले सचिवसँग ठूलो विवाद भएको र आफूले गर्न नचाहेको भन्दै उनले पोखरामा रहेका बिचौलियालाई भनेका छन् “तपाईँसँग धेरै कुरा गर्नु छ। मेसेज प्लिज नगर्नु होला।”
“भर्खर नयाँ सचिव ल्याएको छु। पहिलाको भन्दा बाप रहेछ। भोली कतिखेर बस्ने, भन्दै उनले उनीहरूको नजिकको मान्छे लगाएको बताएका छन्। पोखरामा रहेका व्यक्तिले आठ बजेको फ्लाइटबाट काठमाडौँ आउन लागेको भन्छन्। गुप्ताले ११ बजे राज्य व्यवस्थाको बैठक रहेको र त्यसपछि प्रधानमन्त्रीको कार्यालयमा जानुपर्ने बताएका छन्।
गुप्ताले पोखराको फ्लाइटको ठेगान हुन्न भन्दै भोली दुई भाइ मात्र बसेर कुरा गर्नुपर्ने बताएका छन्। अडियोमा गुप्ताले “यिनको नजिकको मान्छे लगाएको छु। शनिवार भेट्छु।”
गुप्ताले तपाईँको समस्या मेरो समस्या हो भन्दै तलमाथि हुन नदिने बताएपछि पोखरामा रहेकाले “म तपाइको घरको भाइ नै हो” भनेका छन्। उनले रामचन्द्रले अप्ठ्यारो पार्छन् भनेपछि सामान्यले फालेपछि म मिलाउँछु भनेको बताएका छन्।
उनले तलमाथि हुन नदिने भन्दै तीन चार बजे फोन गरेर बेलुका नै भ्याउने बताउँछन्। अनि तत्कालीन मन्त्री गुप्ताले भोली नै मिलाउनु पर्छ भनेका छन्।
“१० बजे अगाडि काठमाडौँ आएर सम्भव छैन। सचिवको मान्छेसँग सम्पर्क गर्नु। रामचन्द्रलाई भोली बोलाएको छु” गुप्ताले भनेका छन्।
यो प्रकरणमा भौतिक सुधारमन्त्री बलराम अधिकारी, उनको छोरा र तत्कालिन भौतिक सचिव समेत जोडिएका छन्। उकेराले बुधबार मन्त्री अधिकारीबारेको अडियो रेकर्ड सार्वजनिक गरेको थियो।
असार ३२, २०८२ बुधबार २३:२०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।