हरिचोक-याम्दी सडक निर्माणको काम निकै सुस्त, कारबाहीको साटो कम्पनीको म्याद थपेर बस्यो आयोजना

गण्डकी : निर्माण कम्पनीको लापरबाहीले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका-१ को हरिचोक-याम्दी सडक निर्माणको काम निकै सुस्त भएको छ।
दुई हजार दुई सय मिटर लामो सडक निर्माणको ठेक्का विक्रम संवत् २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले पाएको थियो। निर्माण कम्पनीको लापरबाहीका कारण उक्त सडक समयमा विस्तार र स्तरोन्नति हुन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले बताएको।
कार्यालयका इन्जिनियर किरण सुवेदीले उक्त सडक निर्माणमा हालसम्म ७० प्रतिशत भौतिक र ६६ प्रतिशत वित्तीय प्रगति भएको बताए। गत वैशाख दोस्रो सातादेखि अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्न सुरु गरिए पनि पहिलो चरणको कालोपत्रे अझै नसकिएको उनले बताए।
“दोस्रो तहको कालोपत्रे गर्न बाँकी नै छ, सडक मार्किङ, सौन्दर्यीकरणलगायत काम गर्न अझै केही महिना लाग्ने देखिन्छ”, इञ्जिनियर सुवेदीले भने, “वर्षात्का बेला भएकाले कालोपत्रेको काम प्रभावित भइरहेको छ, आउँदो आवभित्रमा काम पूरा हुन्छ।”
हरिचोकतर्फबाट सुरु भएको पहिलो तहको कालोपत्रे अन्तिम चरणमा पुगेको, विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले समेत सडक निर्माण प्रभावित बनेको इन्जिनियर सुवेदीले दाबी गरे।
उक्त खण्डको दुवैतर्फ चार लेनको सडक चार वर्षअघि नै बनिसकेको थियो। बिचको खण्ड जीर्ण हुँदा प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यातायात सेवा असहज बन्दै आएको छ। सडक कच्ची र अस्तव्यस्त हुँदा सवारी जामको समस्या र दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायीको गुनासो छ।
आयोजना कार्यालयका अनुसार दुई वर्षमा सक्ने ठेक्का सम्झौता भए पनि समयमा काम पूरा हुन नसकेपछि दुई पटकसम्म ठेक्का म्याद थपिएको छ। आयोजना कार्यालयले ठेक्का तोड्न खोजे पनि निर्माण कम्पनीले कामलाई तीव्रता दिने प्रतिबद्धता गरेपछि म्याद थपिँदै आएको हो।
असार ३२, २०८२ बुधबार २२:२३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।