पिसिएलको नर्सको कोटा तोकियो, निजी कलेजलाई पनि नर्सिङ पढाउने अनुमति दिने तयारी

पिसिएलको नर्सको कोटा तोकियो, निजी कलेजलाई पनि नर्सिङ पढाउने अनुमति दिने तयारी

काठमाडौँ : चिकित्सा शिक्षा आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट संख्या तोकेको छ।

बुधवार प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो।

बैठकले आङ्गिक, गैरनाफामूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २ सय ८५ शिक्षण संस्थालाई सिट निर्धारण गरेको छ। बैठकमा मेडिकल कलेजलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणको विषयमा समेत छलफल भएको थियो।

चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिक सत्रका लागि शिक्षण शुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ।

कार्यदलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालाई हस्तान्तरण गरेका थिए।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिएका थिए।

असार ३२, २०८२ बुधबार २२:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।