सार्वजनिक जग्गा अतिक्रमण गरेर स्याउ खेती, स्थानीय प्रशासनले रोक लगायो

सार्वजनिक जग्गा अतिक्रमण गरेर स्याउ खेती, स्थानीय प्रशासनले रोक लगायो

मुस्ताङ : स्थानीय प्रशासनले मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक लगाएको छ। मार्फास्थित राजखोला छेउका सार्वजनिक जग्गा अतिक्रमण गरेर स्याउका बिरुवा रोपेको फेला पारेपछि स्याउ जिल्ला प्रशासन कार्यालयले त्यसमा रोक लगाइएको हो।

मार्फास्थित राजखोलामा खोला अतिक्रमण गरी स्याउ खेती सुरु गर्न थालेपछि त्यसमा रोक लगाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए। भुसालका अनुसार सार्वजनिक जग्गामा स्याउ बिरुवा रोप्ने व्यक्ति र संस्थालाई त्यहाँको जग्गासम्बन्धी आवश्यक प्रमाण लिएर आउन आग्रह गरिएको छ।

पछिल्लो समय उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ खेतीतर्फ यहाँको किसानको आकर्षण बढेको छ। बिरुवा रोप्ने गरेको दोस्रो वर्षमै फल दिने भएकाले यहाँ हाइब्रिड खेती गर्ने प्रचलन बढेको हो। यसैका लागि मुस्ताङका गाउँ गाउँमा आफूखुसी गाउँले मिलेर सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउ खेती गर्न थालेका छन्।

मुस्ताङको मार्फा मात्रै होइन ,जिल्लाका पाँच वटै स्थानीय तहमा सार्वजनिक जग्गा अतिक्रमण बढेको छ। यहाँको कूल क्षेत्रफलको दुई प्रतिशत जमिन मात्रै नापी भएकाले यहाँका सार्वजनिक जग्गा प्रयोगहीन अवस्थामा छन्। 

असार ३२, २०८२ बुधबार २१:२१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।