पेन्सनपट्टा बनाउन तीन लाख घुस लिएका शाखा अधिकृत धनेश्वर दोषी ठहर

काठमाडौं : शिक्षकको पेन्सन पट्टा बनाउन तीन लाख खुस लिएको अभियोग लागेका राष्ट्रिय किताबखाना छाउनीमार्गका शाखा अधिकृत धनेश्वर प्रसाईँसहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अधिकृत प्रसाईँ र बिचौलिया सुदर्शन न्यौपानेलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १४ गते प्रसाईँलाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। प्रसाईँसँग कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको मिलेमतोमा अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा बनाउन विभिन्न बहाना बनाएर घुस मागेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
अदालतले बुधवार घुस लिएको बिगो ३ लाख रुपैयाँको दामासाहीले हुने १ लाख ५० हजारका दरमा बिगो, त्यति नै जरिवाना र ६ महिनाका दरले कैद सजाय हुने फैसला गरेको हो। कार्यालय सहयोगी भवानी अधिकारी भने पेन्सन पट्टा बनाउने कर्मचारी नरहेको भन्दै विशेषले उनलाई सफाइ दियो।
असार ३२, २०८२ बुधबार २१:०४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।