घुस काण्डमा गुप्ताको राजीनामापछि रिक्त सामान्य प्रशासन मन्त्रीमा नियुक्त न्यौपानेले लिइन् शपथ

काठमाडौं : नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।
बुधवार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन्। शपथ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायत सहभागी थिए।
विवादित अडियो प्रकरणमा मुछिएपछि राजकुमार गुप्ताले सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाकी सदस्य न्यौपानेलाई नियुक्त गरेका हुन्।
बिचौलिया समूहसँग मिलेर पोखराको डेढ सय रोपनी बढी जग्गा व्यक्तिको नाममा पार्न कर्मचारी सरुवाका लागि घुस लिएको अडियो संवाद सार्वजनिक भएपछि गुप्ता राजीनामा दिन बाध्य भएका थिए।
अर्का भूमि व्यवस्था मन्त्री बलराम अधिकारी समेत सोही प्रकरणमा जोडिएका छन्। बुधवार उकेराले मन्त्री अधिकारीको नाम जोडिएको घुस काण्डको अडियो सार्वजनिक गरेको थियो।
असार ३२, २०८२ बुधबार २०:०६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।