सीमामा पेस्तोल देखाएर नेपाली लुट्ने भारतीय नागरिक विजय पक्राउ

सीमामा पेस्तोल देखाएर नेपाली लुट्ने भारतीय नागरिक विजय पक्राउ

जनकपुर :  नेपाल भारत सिमानामा दिउँसै पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले भारत बिहार मधुवनी ग्रामपञ्चायतका २३ वर्षीय विजय मुखियालाई पक्राउ गरेको हो।

प्रहरीले दिएको जानकारी अनुसार उनले गत असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर १ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर दुई लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र एप्पल कम्पनीको–१६ प्रो. आइफोन मोबाइल लुटेका थिए।

बुधवार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार गोइत बैङ्कमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकेर मुखियाले लुटेका थिए।

मुखियालाई प्रहरीले सोमबार साँझ धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ ठिल्लाबाट पक्राउ गरेको थियो। उनले लुटपाटमा प्रयोग गरेको विआर३२एवाई३९३८ नम्बरको निलो रङ्गको मोटरसाइकल र ब्याग पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार मुखिया पेशेवर लुटेरा रहेको र भारतमा पनि उनी माथि ९-१० वटा मुद्दा रहेको छ।

धनुषा प्रहरीका अनुसार उक्त घटनामा थप केही व्यक्ति फरार छन्। पक्राउ परेका मुखियामाथि थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको उपरीक्षक रेग्मीले जानकारी दिए।

असार ३२, २०८२ बुधबार १९:५७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।