जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा अल्पमतमा सरकार, प्रतिनिधि सभामा दुई तिहाइ गुम्यो

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिएसँगै सरकारले प्रतिनिधि सभामा रहेको दुई तिहाइ समर्थन गुमाएको छ भने राष्ट्रिय सभामा अल्पमतमा परेको छ। प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपालाई सरकारमा सहभागी हुन मनाउने प्रयास असफल भएसँगै जसपाले बुधवार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
जसपाको बुधवार बसेको संसदीय दलको बैठकले सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको, भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसनतन्त्रमा सरकार लिप्त रहेको,आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसकेको, असन्तुलित र पूर्वाग्रही रूपले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएको लगायतका आरोप लगाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
जसपाले सङ्घीयता कार्यान्वयन गर्न कुनै ठोस प्रयास नगरेको, कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिबी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसकेको,स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार गर्न नसकेको, समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्न मधेसी, आदिवासी जनजाति, दलित, महिला, पिछडावर्ग, थारु, अल्पसङ्ख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसकेको आरोप लगाएको छ।
यसैगरि मधेस, थरुहट, किरात-लिम्बुवान लगायतका आन्दोलनहरूका क्रममा झुटा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाइ नगरेको, संविधान संशोधनका लागि कुनै प्रयास नगरेको, किसानहरूलाई कृषि बजार, सिँचाइ, मल, बिउ विजन र किटनाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध नगराएको र रोजगारीका अवसरहरू सृजना गर्न नसकेको आरोप लगाएको छ। यस अगाडि नै नागरिक उन्मुक्ति पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छ।
अब सरकारमा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र अशोक राई नेतृत्वको जसपा सहभागी छ।
असार ३२, २०८२ बुधबार १८:५४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।