खानेपानी संकट समाधान गर्न सेनाको सहयोगमा वारुणयन्त्र परिचालन

जनकपुरधाम : वीरगञ्जलगायत मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको खानेपानीको चरम संकट समाधान गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा वारुणयन्त्र परिचालन गरेको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले बुधबार ८ वटा वारुणयन्त्रलाई प्रभावित क्षेत्रमा पठाउँदै खानेपानी वितरण कार्यको सुरुवात गरेका हुन्।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार, प्रदेश सरकारले आफूसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रमा पठाएको हो।
प्रत्येक वारुणयन्त्रले ५ हजार लिटरका दरले एकैपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गर्नेछ। यी वारुणयन्त्रहरू २४ सै घण्टा सञ्चालनमा रहनेछन्, जसको व्यवस्थापन प्रदेश सरकारले र सञ्चालन नेपाली सेनाले गर्नेछ।
कार्यक्रममा मुख्यमन्त्री सिंहले सरकार नागरिकको समस्या समाधानप्रति समर्पित रहेको बताए।
उनले भने, ‘सुक्खा र खानेपानी संकटबाट पीडित नागरिकको साथमा प्रदेश सरकार छ। हामी संघीय सरकार, स्थानीय सरकार र दातृ निकायहरूसँग समन्वय गरी साधनस्रोतको अधिकतम प्रयोग गरेर समस्या समाधान गर्ने प्रयासमा छौँ।’
प्रदेश सरकारले यसअघि नै वन कार्यालयका तीनवटा ट्याङ्करमार्फत पनि प्रभावित क्षेत्रमा पानी आपूर्ति गरिरहेको जनाएको छ। साथै, नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी भइरहेको पनि बताइएको छ।
खानेपानी संकटबाट प्रभावित नागरिकलाई तत्काल राहत दिने उद्देश्यले प्रदेश सरकारले आफ्ना सबै संयन्त्र र स्रोत परिचालन गरेको बताएको छ।
असार ३२, २०८२ बुधबार १४:२२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।