‘दूधसँग कोक अनि चामलसँग चाउचाउ साटिरहेका हामी जुम्ली’

जुम्ला बजारको दक्षिणी छेउ, जहाँ तिला नदीले सीमा छुट्याएको छ, त्यहीँ छ मेरो गाउँ- पिपलगाउँ।
तत्कालीन कार्तिकस्वामी गाविस र हाल चन्दननाथ नगरपालिका वडा नं. १० मा पर्ने यो गाउँ बजारबाट १५-२० मिनेटको पैदल दूरीमा भए पनि लामो समयसम्म दुर्गम नै रह्यो। भर्खरै बनेको पक्की पुलले सदरमुकामसँग सामीप्यता त जोडेको छ, तर व्यवस्थित सडकको अभाव अझै उस्तै छ।
म अक्सर गाउँभन्दा अलि परको ढिकमा पुग्छु, जहाँबाट पूरै जुम्ला बजारको दृश्य देखिन्छ। हामीलाई कुनै भ्युटावरको आवश्यकता नै पर्दैन। यद्यपि जुम्लामा पनि केही भ्यूटावरहरू भने नबनेका हैनन्। यहीँबाट म बजारलाई नजर लगाउँछु, नजिकका गाउँ-बस्तीहरू नियाल्छु र समग्र जुम्लाको चित्र मनमा खेलाउँदै केही लेख्न बस्छु।
०००
भौगोलिक रूपमा विकट भए पनि जुम्ला प्राकृतिक रूपमा हराभरा र सुन्दर छ। प्रकृतिको यही वरदानका कारण यसलाई ‘नेपालको कश्मीर’ भनेर चिनिन्छ।
विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्यूलो, विभिन्न प्रजातिका यार्सागुम्बा र पाँचऔंले जस्ता जडीबुटी, डाँफे-कालिज जस्ता चराचुरुङ्गी, लोपोन्मुख रेडपान्डा जस्ता वन्यजन्तु र हरियालीले सजिएका पहाडहरू यहाँका पहिचान हुन्।
सदाबहार हिमालहरूबाट हिउँदमा आउने चिसो सिरेटोले छुट्टै आनन्द दिन्छ। साना-साना समथर फाँट र उर्वर कृषिभूमिले जुम्लाको भौगोलिक विविधतामा सुन्दरता थपेको छ।
यहाँ तिला, हिमा र जवा नदी अविरल बगिरहन्छन्। गिडी दह, ठाकुरज्यू, विष्टज्यू लगायतका थुप्रै ताल र हिमतालबारे अझै खोज, अध्ययन र प्रचारप्रसार हुन सकेको छैन। अग्ला पाटन, प्रशस्त जडीबुटी, घना जङ्गल र चट्टानी पहाडले यहाँको जैविक विविधतालाई संरक्षण गर्दै आएका छन्।
पछिल्लो समय जुम्लाले विकास निर्माणमा फड्को मारेको दाबी गरिन्छ। शिक्षा, स्वास्थ्य, सडक र विद्युत् क्षेत्रमा केही प्रगति भएको छ, घर-भवन निर्माण पनि तीव्र गतिमा छ। विकासको यो आँकडामा गर्व गर्न सकिएला, तर पर्यावरणको हिसाबले हाम्रो गति बिग्रँदैछ। अति राजनीतिकरण र सत्ताकेन्द्रित सोचले दिगो विकासलाई पछाडि धकेलेको छ।
पर्यावरणमैत्री विकासभन्दा जथाभावी डोजर चलाएर विनाश निम्त्याउने क्रम जारी छ। जङ्गल, नदी, भिरपाखा र खोलाहरू ‘डोजर आतंक’को सिकार बनेका छन्, जसले पहाडका परम्परागत जल प्रणालीमा गम्भीर असर पुर्याएको छ र खानेपानीको हाहाकार सुरु भएको छ।
मिलेर बसेको माटो र ढुङ्गा खोतल्दा बाढी-पहिरोले बेलाबेला ताण्डव नृत्य देखाइरहेको छ, जसको असर हामीले भोगिसकेका छौँ। दुई-दुई पटक स्थानीय सरकार बनिसक्दा पनि योजनाबद्ध विकास हुन नसक्दा शहरी फोहोर र ढल व्यवस्थापन हुन सकेको छैन। बजार क्षेत्रको ढल सिधै जुगाड खोलामा मिसाउँदा जलचरहरू विनाश भएका छन्।
कुनै बेला प्रशस्त माछा पाइने खोलामा आज प्लास्टिक, सिसाका बोतल र फोहोर मात्र भेटिन्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुईजन्य फोहोरसहित अन्य विषादीयुक्त वस्तुहरू पनि नदीमा फालिँदैछ। नदीमा डोजर चलाउँदा र प्रदूषण बढ्दा केही वर्षअघि नदीमा माछाहरू मरेर तैरिएको दृश्य हामीले समाचारमा देखे-सुनेकै हौँ।
अहिले जिल्लाभरिका नदी किनारमा बसेका साना बजारका कारण नदीनाला प्रदूषित बनेका छन्। स्वच्छ पानी बग्ने नदीमा प्लास्टिकका बोतल र झोला तैरिरहेको देखिन्छ। नदीहरूमा ढुङ्गा, बालुवा र गिट्टीको अनियन्त्रित उत्खननले नदीलाई कुरुप बनाउनुका साथै बाढीको खतरा बढाएको छ।
भूमिगत जलस्रोतका रूपमा रहेका कुवा (नाउला) हरू सुक्दै गएका छन्। यसको उदाहरण जुम्ला बजार नै हो। एक कार्यक्रममा नगरपालिकाका मेयर राजुसिंह कठायतले बजारसँगै जोडिएको वडा नं. ४ को मालाभिड गाउँमा सयौं वर्ष पुरानो पानीको मूल सुकेको र पानीको हाहाकार हुन लागेको बताएका थिए।
त्यस्तै, वनजङ्गलमा हुने आगलागी, डढेलो र गाडीले फाल्ने धुवाँ-धुलोले वायुमण्डलसमेत प्रदूषित बन्दै गइरहेको छ। म फेरि तल बगिरहेको तिला नदीतर्फ हेर्छु। नदी आफ्नै लयमा बग्दै थियो, तर मेरो बचपनमा देखेको भन्दा निकै सानो आकारमा।
नदीको मूल स्रोत मानिने कान्जिरोवा र पातारासी हिमालतिर नजर लगाउँदा ती हिमाल नभएर काला, नाङ्गा पहाड जस्ता देखिन्थे। हिमालको चमक हराउँदै गएको थियो, त्यसैले त तिलाको आकार साँघुरिँदै थियो।
पाखो बारीमा हुने बालीनाली आकाशे पानीमा निर्भर हुन्छन्। समयमा पानी नपर्दा कि त जमिन बाँझै राख्नुपर्ने, कि त लगाएको बाली सुकेर जाने स्थिति छ। सिँचाइ कुलो भएका खेतबारीमा समेत पानी नपुग्दा खेतीयोग्य जमिन बाँझिदै गएको छ।
केही वर्ष पहिले प्रकृति सही लयमा थियो, समयमै वर्षा हुन्थ्यो, हिउँदमा हिउँ पर्थ्यो र बालीनाली राम्रै हुन्थ्यो। तर, जलवायु परिवर्तनका कारण वर्षाचक्र बदलियो, हिउँ पर्न छोड्यो। यसको प्रत्यक्ष मार सिँचाइ नभएका ठाउँले भोग्नुपरेको छ। कहिले लामो खडेरी, कहिले अतिवृष्टि। यही कारणले पेट पाल्नकै लागि मानिसहरू परदेशिन बाध्य छन्।
हिजो पैदल हिँड्ने ठाउँमा आज मोटर पुगेको छ, दाउरा बाल्ने चुलोमा ग्यास बलेको छ। तर, आफ्नै खेतीमा निर्भर समुदाय आज खेतीयोग्य जमिन बाँझो राखेर परदेशबाट आएको पैसाले शहरमा कोठा भाडामा लिएर बस्ने ‘फेसन’ चलेको छ। गाउँ रित्तिँदैछन्, जमिन बाँझिदैछ।
विकासको नाममा तिला नदीको सिरानदेखि पुच्छारसम्म डोजर पसेको छ। ढुङ्गा, गिट्टी र बालुवा झिक्दा नदीको सतह खेतभन्दा तल पुगेको छ, जसले सिँचाइ हुने खेतमा पनि पानीको अभाव चुलिएको छ। यही गति रहे केही वर्षमा ती खेतहरू पनि बाँझो हुने निश्चित छ।
सडक सञ्जालसँग जोडिएका खेतीयोग्य जमिनहरू प्लटिङ भएर अनुत्पादक बनेका छन्। धान फल्ने खेतहरू आज कंक्रिटको जङ्गलमा परिणत भएका छन्। यसबारे न कृषि विकास कार्यालयको ध्यान गएको छ, न त स्थानीय सरकारको।
आधुनिकताको नाममा हामीले आफ्नो परम्परागत खेतीपाती बिर्सेका छौँ। फापर, कोदो, चिनो र कागुनो जस्ता रैथाने बाली लगाउन छोडेका छौँ। चाउचाउसँग चामल र दूधसँग कोकाकोला साटिरहेका छौँ। धानखेतमा विषादी प्रयोग गरेर घर-घरमा क्यान्सरजस्ता रोग भित्र्याइरहेका छौँ।
एकातिर भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको चिन्ता छ भने अर्कोतिर कमसल भौतिक संरचना र मृत्युमार्ग बनेका सडकको त्रास छ। हाम्रा प्राकृतिक स्रोतसाधन सदुपयोग हुन सकेका छैनन्, पर्यटकीय क्षेत्रहरू पर्यटकको पर्खाइमा छन्।
पर्यावरणको असर, अव्यवस्थित विकास र सामाजिक परिवर्तनले किसानहरूलाई आप्रवासी बनाएको छ। यी सबै समस्या देख्दा मनमा एउटा प्रश्न उब्जिन्छ- हामीले प्राकृतिक समस्यासँग जुध्न सिक्ने कि यी कृत्रिम संकटहरूसँग? आखिर पेटको रापका लागि संघर्षरत जीवनको अन्तिम लक्ष्य भोक मेटाउनु नै त हो।
असार ३२, २०८२ बुधबार १४:१३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।