विपत्ति मात्र होइन, वरदान पनि हो मनसुन (फोटो कथा)

काठमाडौं : मनसुनको बर्सात, वनजंगलमा छाउने हरियाली, झरनाहरूको जीवन्त प्रवाह अनि आकाशमा हरपल आकार बदल्दै दौडिरहने बादलको मनमोहक दृश्य...। मानव सिर्जित कारणले आउने बाढी-पहिरोको वितण्डालाई बिर्सने हो भने मनसुन आफैँमा प्रकृतिको एक सुन्दर उपहार हो, जसले हाम्रो जीवन र धर्तीलाई नयाँ ऊर्जा दिन्छ।
हिन्द महासागरबाट उठेको जलवाष्प बंगालको खाडी हुँदै दक्षिणपूर्वी दिशाबाट नेपाल प्रवेश गर्छ। औसतमा जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने यो मनसुनी चक्रले हिमाल, पहाड र तराईको हाम्रो भूगोललाई सिञ्चित गर्छ।
हाम्रो कृषि प्रणाली मनसुनकै भरमा चल्छ। धान, मकै, कोदो जस्ता मुख्य बालीनाली यही वर्षाले सिञ्चित हुन्छन्। मनसुन किसानहरूको जीविकोपार्जनको आधार मात्र होइन, हाम्रो खाद्य सुरक्षाको मेरुदण्ड पनि हो।
मनसुनमा नदीहरू आफ्नो पूर्ण क्षमतामा बग्छन्। यही बेला जलविद्युत आयोजनाहरूले पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्छन्। यसले हाम्रो ऊर्जा आवश्यकता पूरा गर्ने मात्र होइन, बढी भएको विद्युत निर्यात गरी देशको आर्थिक वृद्धिमा समेत टेवा पुऱ्याउँछ।
मनसुनी वर्षाले वनजंगल, तालतलैया र सिमसार क्षेत्रलाई पुनर्जीवित गर्दै जैविक विविधताको संरक्षण गर्छ। काठमाडौँजस्ता प्रदूषित सहरका नदीनाला सफा गर्न, धुवाँ-धुलो पखाल्न र वातावरणीय स्वच्छता कायम राख्न पनि मनसुन एक प्राकृतिक वरदान हो।
वर्षाले प्राकृतिक सौन्दर्यमा निखार ल्याउँछ। चारैतिर हरियाली छाउँछ, सुकेका झरनाहरू ब्युँतिन्छन्। यो मनमोहक दृश्यले आन्तरिक पर्यटनलाई बढावा दिन्छ र खानेपानीका स्रोतहरू रिचार्ज गरी सुक्खायामका लागि पानी सुनिश्चित गर्छ।
मनसुनसँगै चुनौतीहरू पनि आउँछन्। तर, ती चुनौतीहरूलाई न्यूनीकरण गर्दै कृषि, ऊर्जा र पर्यटनमा मनसुनले ल्याउने अवसरहरूको सदुपयोग गर्नु नै आजको आवश्यकता हो। मनसुनलाई आपत होइन, नेपालको दिगो विकासको अवसर बनाउन आवश्यक छ।
असार ३२, २०८२ बुधबार १२:५८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।