१२८ वर्षपछि हुन लागेको ओलम्पिक क्रिकेटको तालिका सार्वजनिक, कति टोली हुन्छन् सहभागी?

एजेन्सी : १२८ वर्षको लामो अन्तरालपछि क्रिकेटले ओलम्पिक खेलकुदमा ऐतिहासिक पुनरागमन गर्ने भएको छ।
सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकका लागि क्रिकेट खेलको तालिका सार्वजनिक गरिएको छ, जसले विश्वभरका क्रिकेट प्रशंसकहरूलाई उत्साहित बनाएको छ।
लस एन्जलस (एलए) ओलम्पिकमा क्रिकेट खेलहरू जुलाई १२, २०२८ देखि सुरू हुनेछन्। पुरुष र महिला दुवै विधाका पदकका लागि फाइनल खेलहरू जुलाई २० र २९ मा खेलाइनेछन्। सम्पूर्ण खेलहरू टी२० ढाँचामा सञ्चालन हुनेछन्।
सबै खेलहरू पोमोना शहरको फेयर ग्राउन्ड स्टेडियममा हुनेछन्, जुन लस एन्जलसबाट करिब ५० किलोमिटर टाढा पर्दछ। यसका लागि त्यहाँ एक अस्थायी रङ्गशाला निर्माण गरिनेछ।
नेपाली समयअनुसार, दिनको पहिलो खेल राति ९:४५ बजे र दोस्रो खेल भोलिपल्ट बिहान ७:१५ बजे सुरू हुनेछ। प्रतियोगितामा प्रायः एकै दिन दुई खेल (डबल हेडर) हुनेछन्, तर जुलाई १४ र २१ मा भने कुनै खेल हुने छैन।
यस प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६-६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीमा १५ खेलाडी रहनेछन् र कुल १८० खेलाडीले ओलम्पिकमा भाग लिनेछन्। आयोजक राष्ट्रको रूपमा अमेरिकाले स्वतः स्थान पाउने निश्चित छ। पुरुष र महिला दुवैतर्फ बाँकी ५-५ टोलीले छनोट प्रक्रिया पार गरेर आउनुपर्नेछ।
यद्यपि, छनोटको पूर्ण प्रक्रियाबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। अमेरिकाले हालै मात्र टी-२० विश्वकपको सफल आयोजना गरेकाले पनि उसको सहभागितालाई महत्त्वका साथ हेरिएको छ।
ओलम्पिकमा क्रिकेटको ऐतिहासिक पुनरागमन
यो १२८ वर्षपछि ओलम्पिकमा क्रिकेटको पुनरागमन हो। यसअघि सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट समावेश गरिएको थियो। त्यतिबेला ग्रेट ब्रिटेन र फ्रान्सबीच एउटा मात्र खेल भएको थियो, जसमा ग्रेट ब्रिटेनले स्वर्ण र फ्रान्सले रजत पदक जितेको थियो।
ओलम्पिकबाहेक अन्य ठूला बहु-खेलकुद प्रतियोगिताहरूमा पनि क्रिकेटले स्थान पाएको छ। क्रिकेटलाई कमनवेल्थ गेम्समा दुई पटक (सन् १९९८ र २०२२ मा) समावेश गरिएको थियो।
त्यस्तै, एसियाली खेलकुद (एसियाड) मा सन् २०१०, २०१४ र २०२३ गरी तीन पटक क्रिकेटले स्थान पाएको छ। सन् २०२३ को एसियाडमा भारतले पुरुष र महिला दुवै टोली पठाएको थियो र दुवैले स्वर्ण पदक जितेका थिए।
लस एन्जलसका मेयर करेन बासले एक विज्ञप्तिमा भने, ‘जब विश्व यी खेलहरूका लागि यहाँ आउनेछ, हामी सबैका लागि अविस्मरणीय खेल आयोजना गर्नेछौं र एउटा महत्त्वपूर्ण विरासत छोड्नेछौँ।’
असार ३२, २०८२ बुधबार ११:४८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।