साउनदेखि बैंकको ब्याजदर घट्ने, औसतमा ५.६८ प्रतिशतमा झर्यो

काठमाडौं : जेठ र असारमा स्थिर रहेको बैंकहरूको ब्याजदर साउन महिनाका लागि पुनः घटेको छ।
नेपाल राष्ट्र बैंकको नीतिगत हस्तक्षेप र बजारमा अधिक तरलताको चापपछि अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाएर नयाँ तालिका सार्वजनिक गरेका छन्।
ब्याजदर घट्नुमा राष्ट्र बैंकको मौद्रिक नीति प्रमुख कारण हो। गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशतमा झारेको छ।
यस्तै, स्थायी तरलता सुविधा (एसएलएफ) दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारिएको छ। यी नीतिगत दरहरू घट्दा बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउन दबाब परेको हो।
यसबाहेक, असार महिनामा सरकारी खर्च बढ्नुले पनि बजारमा तरलता थपेको छ। आर्थिक वर्षको कुल पुँजीगत खर्चमध्ये ३२ प्रतिशत असारमा मात्रै खर्च भएको थियो। अर्कोतर्फ, बैंकहरूबाट कर्जाको माग सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएको छ।
कति घट्यो ब्याजदर?
बुधबार सार्वजनिक नयाँ ब्याजदर तालिकाअनुसार, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ। असारमा ५.९०२ प्रतिशत रहेको यस्तो औसत ब्याजदर साउनका लागि ५.६८७ प्रतिशतमा कायम भएको छ।
साउनमा १४ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ४ वटाले स्थिर राखेका छन् । हिमालयन बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले भने सामान्य बढाएका छन्।
प्रणालीमा ७ खर्ब अधिक तरलता
मंगलबारसम्मको तथ्यांकअनुसार, वित्तीय प्रणालीमा करिब ७ खर्ब रुपैयाँ अधिक तरलता छ। राष्ट्र बैंकले ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ बजारबाट खिचेर राखेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर हो।
गत आर्थिक वर्षको असार अन्त्यमा ३ खर्ब ५५ अर्ब रुपैयाँ अधिक तरलता संकलन भएको थियो। आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरूमा कर्जाको माग बढ्न सकेको छैन, जसले गर्दा बजारमा पैसा थुप्रिएको हो।
असार ३२, २०८२ बुधबार ०९:५८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।