लुम्बिनीमा बजेट खर्च ७२ प्रतिशत, तर आन्तरिक राजस्व लक्ष्यको आधा पनि उठेन

बुटवल : लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७२.४३ प्रतिशत बजेट खर्च गरेको छ।
कुल ३८ अर्ब ९७ करोड रुपैयाँको बजेटमध्ये चालु आर्थिक वर्षमा २८ अर्ब २२ करोड ५९ लाख ६६ हजार ३२० रुपैयाँ, अर्थात् ७२.४३ प्रतिशत, बजेट खर्च भएको हो।
प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालुतर्फ ७१.६८ प्रतिशत र पुँजीगततर्फ ७२.८७ प्रतिशत बजेट खर्च भएको छ। सरकारले चालुतर्फ विनियोजन गरेको १४ अर्ब ३८ करोड ४१ लाखमध्ये १० अर्ब ३० करोड ९९ लाख (७१.६८ प्रतिशत) खर्च गरेको हो।
यसैगरी, पुँजीगततर्फ कुल २४ अर्ब ५८ करोड ५९ लाख बजेटमध्ये १७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ (७२.८७ प्रतिशत) खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए।
गत वर्ष लुम्बिनी प्रदेशमा ६६.१४ प्रतिशत बजेट खर्च भएको थियो। यस वर्ष खर्च ६.२९ प्रतिशतले बढेको छ।
कुन मन्त्रालयले कति गर्यो खर्च ?
प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मन्त्रालयहरूमध्ये सबैभन्दा धेरै स्वास्थ्य मन्त्रालयले ८६ प्रतिशत बजेट खर्च गरेको छ। स्वास्थ्य मन्त्रालयले विनियोजित ५ अर्ब ७५ करोड बजेटमध्ये ४ अर्ब ९५ करोड २४ लाख रुपैयाँ खर्च गरेको हो।
त्यस्तै, खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयले ८४.५५ प्रतिशत बजेट खर्च गरेको छ। मन्त्रालयलाई विनियोजित ५ अर्ब ४० करोड ९३ लाख बजेटमध्ये ४ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ खर्च भएको हो।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ७७.०७ प्रतिशत बजेट खर्च गरेको छ। यो मन्त्रालयले ३ अर्ब २७ करोड बजेटमध्ये २ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो।
सामाजिक विकास मन्त्रालयले ७१.३८ प्रतिशत बजेट खर्च गरेको छ। मन्त्रालयलाई विनियोजन भएको कुल २ अर्ब ८४ करोड ४२ लाख बजेटमध्ये २ अर्ब ३ करोड रुपैयाँ खर्च भएको हो।
आर्थिक मामिला मन्त्रालयले ६८.२० प्रतिशत बजेट खर्च गरेको छ। कुल १ अर्ब बजेटमध्ये मन्त्रालयले ६८ करोड २० लाख रुपैयाँ खर्च गरेको हो।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ६७.९९ प्रतिशत बजेट खर्च गरेको छ। यो मन्त्रालयले कुल १ अर्ब ४७ करोड ९० लाख बजेटमध्ये १ अर्ब ५५ लाख रुपैयाँ खर्च गरेको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल बजेटको ६६.९३ प्रतिशत खर्च गरेको छ। कुल १० अर्ब ४८ करोड ७६ लाख बजेटमध्ये ७ अर्ब १ करोड रुपैयाँ मन्त्रालयले खर्च गरेको हो।
वन तथा वातावरण मन्त्रालयले कुल बजेटको ६५.७५ प्रतिशत खर्च गरेको छ। कुल २ अर्ब २५ करोड बजेटमध्ये १ अर्ब ४८ करोड रुपैयाँ मन्त्रालयले खर्च गरेको हो।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले ६१.८३ प्रतिशत बजेट खर्च गरेको छ। कुल ४५ करोड ७९ लाख बजेटमध्ये २८ करोड ३१ लाख रुपैयाँ खर्च भएको हो।
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले ६२.२२ प्रतिशत बजेट खर्च गरेको छ। १ अर्ब ४४ करोड बजेटमध्ये ८९ करोड ८९ लाख रुपैयाँ खर्च भएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३८.९२ प्रतिशत बजेट खर्च गरेको छ। कुल ६८ करोड ५९ लाख बजेटमध्ये २५ करोड १३ लाख रुपैयाँ खर्च भएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कुल बजेटको ६.०९ प्रतिशत मात्र खर्च गरेको छ। यो मन्त्रालय हाल सामाजिक विकास मन्त्रालयमा गाभिएको छ।
यस्तै, प्रदेश सभाले कुल बजेटको ८४.४३ प्रतिशत खर्च गरेको छ। २७ करोड ५० लाख बजेटमध्ये २३ करोड २१ लाख रुपैयाँ खर्च भएको हो।
लक्ष्यको ४१ प्रतिशत मात्र आन्तरिक राजस्व संकलन
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको २५ असारसम्म जम्मा ४१.०१ प्रतिशत मात्र आन्तरिक राजस्व संकलन भएको छ। प्रदेश सरकारले ४ अर्ब ७१ करोड २० लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा १ अर्ब ९३ करोड २३ लाख रुपैयाँ मात्रै संकलन भएको हो।
प्रदेशले सबैभन्दा बढी आन्तरिक राजस्व यातायात क्षेत्रबाट प्राप्त गरेको छ। चालक अनुमति पत्र र सवारीबाट १ अर्ब ९५ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा ७८ करोड ५४ लाख रुपैयाँ (४०.२४ प्रतिशत) संकलन भएको छ। यातायात क्षेत्रकै सवारी करतर्फ ३९ करोड १६ लाखको लक्ष्यमा २३ करोड १३ लाख (५९.०७ प्रतिशत) उठेको छ।
वन क्षेत्रबाट लक्ष्यको ३०.२९ प्रतिशत मात्र राजस्व संकलन भएको छ। १ अर्ब ३३ करोड २२ लाखको लक्ष्यमा जम्मा ४० करोड ३५ लाख रुपैयाँ मात्र संकलन भएको हो।
यसैगरी, व्यवसाय रजिस्ट्रेसनबाट लक्ष्यको ३१.२८ प्रतिशत राजस्व संकलन भएको छ। २४ करोड ८० लाखको लक्ष्यमा ७ करोड ७५ लाख रुपैयाँ मात्र उठेको छ।
समग्रमा, प्रदेशको राजस्व अनुमान र प्रगति वार्षिक लक्ष्यको ७६.२८ प्रतिशत मात्रै रहेको छ। संघबाट प्राप्त हुने अनुदान, रोयल्टी, राजस्व बाँडफाँट, प्रदेशको आन्तरिक राजस्व र स्थानीय तहसँगको बाँडफाँटसहितका सबै शीर्षकबाट उक्त राजस्व संकलन भएको हो।
असार ३२, २०८२ बुधबार ०८:५६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।