४२ लागिन् कट्रिना : हिन्दी बोल्न नजान्दा फिल्मबाट निकालिइन्; सलमान र रणबीरसँग डेट, विक्कीसँग विवाह

४२ लागिन् कट्रिना : हिन्दी बोल्न नजान्दा फिल्मबाट निकालिइन्; सलमान र रणबीरसँग डेट, विक्कीसँग विवाह

एजेन्सी : बलिउडकी ‘बार्बी गर्ल’ कट्रिना कैफ आज उद्योगकी शीर्ष अभिनेत्रीमध्ये एक हुन्, तर यहाँसम्मको यात्रा उनका लागि कहिल्यै सहज थिएन।

उनी सानै छँदा उनका आमाबुबाको सम्बन्धविच्छेद भयो। बुबाले छोडेपछि आमाले एक्लै आठ जना छोराछोरीको पालनपोषण गरिन्। घरको आर्थिक अवस्थालाई सहयोग गर्न कट्रिनाले १४ वर्षको कलिलो उमेरमै मोडलिङ सुरु गरेकी थिइन्।

भारत घुम्न आउँदाको एउटा सामान्य यात्राले उनको जीवनको बाटो नै बदलिदियो। ‘बुम’ फिल्मबाट डेब्यु गरे पनि त्यो नराम्रोसँग फ्लप भयो। यहाँसम्म कि, महेश भट्टले उनलाई अभिनय नआउने भन्दै फिल्मबाट रातारात निकालिदिए।

एक समयमा आफ्नो फिल्मी करियर सकियो भन्ने सोचेकी कट्रिनाको भाग्य तब बदलियो, जब उनको जीवनमा सलमान खानको प्रवेश भयो। उनै ‘बार्बी गर्ल’ले आज आफ्नो ४२औं जन्मदिन मनाउँदैछिन्। सोही अवसरमा उनको बारेमा केही जानौँ।

सानैमा बुबाले साथ छोडे
कट्रिनाका बुबा मोहम्मद कैफ कश्मीरी मूलका थिए भने आमा सुज्यान टरकोट बेलायती नागरिक थिइन्। कट्रिनाका एक दाइ, तीन दिदी र तीन बहिनी गरी उनीहरू आठ सन्तान थिए।

सुरुमा सबै ठीकठाक भए पनि पछि आमाबुबाबीच मतभेद बढ्दै गयो र उनीहरूले सम्बन्धविच्छेद गरे। बुबाले आठै जना छोराछोरीको जिम्मेवारी आमा सुज्यानको काँधमा छोडिदिए र कहिल्यै कुनै आर्थिक सहयोग गरेनन्।

एक अन्तर्वार्तामा कट्रिनाले भनेकी थिइन्, ‘बुबाको अभावले जीवनमा एक किसिमको शून्यता ल्याउँछ, जसले हरेक केटीलाई असुरक्षित महसुस गराउँछ। जब मेरा सन्तान हुनेछन्, म उनीहरूले आमा र बुबा दुवैको माया पाऊन् भन्ने प्रयास गर्नेछु।’

कहिल्यै स्कुल नगई घरमै पढाइ
कट्रिनाकी आमा एउटा सामाजिक संस्थामा काम गर्थिन्। यही कारणले गर्दा उनीहरूलाई हरेक दुई वर्षमा देश फेर्नुपर्थ्यो।

कहिले चीन, कहिले जापान, फ्रान्स, स्वीट्जरल्याण्ड हुँदै उनी १४ वर्षको उमेरमा लन्डनमा बसोबास गर्न थालिन्। बारम्बार देश फेर्नुपर्ने भएकाले कट्रिना कहिल्यै स्कुल जान पाइनन्। उनकी आमाले नै घरमा शिक्षक राखेर छोराछोरीलाई पढाइन्।

परिवारका लागि १४ वर्षमै मोडलिङ
घरको आर्थिक अवस्थालाई सहयोग गर्न कट्रिनाले १४ वर्षको उमेरमै मोडलिङ सुरू गरिन्। हवाईमा भएको एउटा सौन्दर्य प्रतियोगिता जितेपछि उनलाई लगातार मोडलिङका अवसरहरू आउन थाले। उनी लन्डन फेसन वीकमा समेत सहभागी भइन् र एक व्यावसायिक मोडलको रूपमा स्थापित भइन्।

मोडलिङकै क्रममा साथीहरूसँग उनी भारत घुम्न आएकी थिइन्। यहाँ एक फेसन शोमा र्याम्प वाक गर्दा फिल्म निर्माता कैजाद गुस्तादले उनलाई देखे र आफ्नो फिल्म ‘बुम’ (२००३) मा अवसर दिए। अमिताभ बच्चन, गुलशन ग्रोवर र ज्याकी श्राफजस्ता ठूला स्टार भए पनि फिल्म नराम्ररी फ्लप भयो।

फिल्ममा आउनका लागि उनले आमाको थर ‘टरकोट’ को सट्टा बुबाको थर ‘कैफ’ प्रयोग गर्न थालिन्, ताकि मानिसहरूलाई उच्चारण गर्न सजिलो होस्।

अभिनय नआउने भन्दै फिल्मबाट निकालिइन्
‘बुम’ फ्लप भएपछि महेश भट्टले उनलाई आफ्नो फिल्म ‘साया’ का लागि अनुबन्धित गरे। तर, सुटिङको पहिलो दिन कट्रिनाले राम्रोसँग अभिनय र हिन्दी बोल्न नसकेपछि महेश भट्टले उनलाई फिल्मबाट निकालिदिए। कट्रिनाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म धेरै रोएँ। मलाई लाग्यो मेरो जीवन नै सकियो।’

बलिउडमा काम नपाएपछि उनले दक्षिण भारतीय फिल्ममा काम गरिन्। सन् २००४ मा तेलुगु फिल्म ‘मल्लिसवरी’ का लागि ७.५ लाख भारु लिएर उनी त्यस समयकी सबैभन्दा महँगी अभिनेत्री बनिन्।

सलमान खानको प्रवेश र करियरको दोस्रो सुरुवात
मोडलिङका दिनहरूमा कट्रिनाको सलमान खानकी बहिनी अलविरासँग दोस्ती भयो। अलविराले नै उनलाई सलमानको जन्मदिनको पार्टीमा बोलाएकी थिइन्। त्यहीँ सलमानसँग उनको पहिलो भेट भयो र दोस्ती सुरु भयो।

केही समयपछि सलमानले कट्रिनालाई फिल्म ‘मैंने प्यार क्यों किया’ मा अवसर दिए। यो फिल्म कट्रिनाको करियरका लागि ‘टर्निङ प्वाइन्ट’ साबित भयो। त्यसपछि उनले ‘नमस्ते लन्डन’, ‘वेलकम’, ‘पार्टनर’, ‘सिंह इज किंग’ र ‘राजनीति’ जस्ता कैयौं हिट फिल्ममा काम गरिन्।

सलमान र रणवीरसँगको सम्बन्ध
‘मैंने प्यार क्यों किया’ पछि कट्रिना र सलमान खानको प्रेम सम्बन्धको चर्चा सुरु भयो। उनीहरूले लामो समय एकअर्कालाई डेट गरे तर पछि उनीहरूको ब्रेकअप भयो, जसको कारण रणवीर कपूरलाई मानिन्छ।

सलमानसँग अलग भएपछि कट्रिनाको नाम रणवीर कपूरसँग जोडियो। उनीहरू केही समय ‘लिभ-इन’ सम्बन्धमा पनि बसे। एकपटक ‘कफी विद करण’ शोमा रणवीरकी बहिनी करीना कपूरले कट्रिनालाई ठट्टा गर्दै ‘भाउजू’ भनेकी थिइन्। तर, यो सम्बन्ध पनि लामो समय टिकेन र २०१६ मा उनीहरू अलग भए।

विक्की कौशलसँग विवाह
लामो समयसम्म आफ्नो प्रेम सम्बन्धलाई गोप्य राखेपछि कट्रिनाले ९ डिसेम्बर, २०२१ मा अभिनेता विक्की कौशलसँग विवाह गरिन्। उनीहरूले राजस्थानमा भव्य रूपमा विवाह गरेका थिए। आज कट्रिना आफ्नो वैवाहिक जीवनमा निकै खुसी छिन् र अक्सर आफ्नो परिवारसँगका तस्बिरहरू सेयर गरिरहन्छिन्।

असार ३२, २०८२ बुधबार ०८:३०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।