ट्रम्प भित्रै रहेको बेला ह्वाइट हाउसमा गम्भीर सुरक्षा चुक, गरियो लकडाउन

एजेन्सी : अमेरिकी राष्ट्रपति भवन ‘ह्वाइट हाउस’मा मंगलबार सुरक्षामा कमजोरी देखिएपछि केही समयका लागि लकडाउन लगाइएको छ।
एक व्यक्तिले ह्वाइट हाउसको सुरक्षा बार (सेफ्टी फेन्स) माथिबाट आफ्नो मोबाइल फोन भित्र फ्याँकिदिएपछि यस्तो कदम चालिएको हो।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सञ्चारमाध्यमलाई जानकारी दिँदै भनिन्, ‘कसैले बारमाथिबाट आफ्नो फोन भित्र फ्याँकिदिएको थियो। त्यसलगत्तै आवश्यक सुरक्षा उपायहरू अपनाइएको हो।’
घटनापछि तत्काल पत्रकारहरूलाई जेम्स ब्रेडी ब्रिफिङ रुममा सारिएको थियो भने पेन्सिल्भेनिया एभेन्यूलाई अस्थायी रूपमा बन्द गरिएको थियो।
यद्यपि, स्थिति छिट्टै सामान्य बनेको थियो। ह्वाइट हाउसले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक विज्ञप्ति भने जारी गरेको छैन।
घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए र पेन्सिल्भेनिया जाने तयारीमा थिए। यद्यपि, यस घटनाले उनको भ्रमण कार्यक्रममा कुनै असर परेन र उनी निर्धारित समयमै पेन्सिल्भेनियातर्फ प्रस्थान गरे।
विगतमा पनि पटक-पटक भएका थिए सुरक्षामा चूक
ह्वाइट हाउसको सुरक्षामाथि पछिल्ला वर्षहरूमा घुसपैठ, साइबर हमला र गोप्य जानकारी चुहावटजस्ता कैयौँ प्रश्नहरू उठेका छन्।
मार्च २०२५ मा ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले गल्तीले ‘सिग्नल’ एपमार्फत एक पत्रकारलाई यमनमा हुने सैन्य हमलाको गोप्य योजना पठाएका थिए। ह्वाइट हाउसले यसलाई हल्ला भनेर टार्ने प्रयास गरे पनि यो घटनाले ठूलो विवाद निम्त्याएको थियो।
फेब्रुअरी २०२५ मा ह्वाइट हाउसमा इलन मस्कको ‘स्टारलिंक’ इन्टरनेट सेवा जडान गरिएको थियो, तर सञ्चार विशेषज्ञहरूलाई यसबारे जानकारी दिइएको थिएन। स्टारलिंक कनेक्सनको निगरानी नगरिएकाले डेटा लीक र ह्याकिङको जोखिम बढेको थियो।
अप्रिल २०२३ मा एक सानो बालक ह्वाइट हाउसको सुरक्षा बारको बीचबाट भित्र छिरेको थियो। त्यसपछि सिक्रेट सर्भिसका अधिकारीहरूले बालकलाई उसका अभिभावककहाँ फर्काएर लकडाउन लगाएका थिए।
सेप्टेम्बर २०१४ मा उमर गोन्जालेज नामका एक व्यक्ति ह्वाइट हाउसको बार नाघेर भवनभित्रै प्रवेश गरेका थिए। त्यसबेला तत्कालीन राष्ट्रपति बाराक ओबामा र उनको परिवार भवनमा थिएनन्। यो घटनाको जिम्मेवारी लिँदै अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक जुलिया पियर्सनले राजीनामा दिएकी थिइन्।
असार ३२, २०८२ बुधबार ०८:११:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।