कक्षा ११ को छात्रवृत्तिका लागि १७ हजारभन्दा बढीको आवेदन, साउन ३ देखि परीक्षा

काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न आह्वान गरेको आवेदनमा देशभरबाट १७,२२९ विद्यार्थीले आवेदन दिएका छन्।
शिक्षा विभागका अनुसार सबैभन्दा बढी आकर्षण विज्ञान विषयमा देखिएको छ, जसमा कुल आवेदनको ७१ प्रतिशत अर्थात् १२,३३७ जनाले आवेदन दिएका छन्। त्यस्तै, व्यवस्थापनमा ४,४८१, कानुनमा २७३, शिक्षामा १०४ र मानविकीमा ३४ जनाको आवेदन परेको छ।
प्राप्त आवेदनहरूको रुजु कार्य असार मसान्तसम्ममा सम्पन्न गरी साउन १ गतेदेखि विद्यार्थीहरूले महानगरको वेबसाइट entrance.kathmandu.gov.np बाट प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्।
छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। कक्षा १० को पाठ्यक्रममा आधारित १०० पूर्णाङ्कको परीक्षामा गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० अंक तथा सामान्य ज्ञानबाट १० अंकको बहुवैकल्पिक प्रश्न सोधिनेछ। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४०% अंक ल्याउनुपर्नेछ र गलत उत्तरको नेगेटिभ मार्किङ हुने छैन।
परीक्षाको नतिजा मेरिट सूचीका आधारमा प्रकाशन गरी जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने महानगरले जनाएको छ।
असार ३२, २०८२ बुधबार ०७:५४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।