तीन देशका अन्तरिक्ष यात्रीसहितको निजी अन्तरिक्ष यात्रा सम्पन्न, क्यालिफोर्नियाको समुद्रमा सफल अवतरण

काठमाडौं : भारत, पोल्यान्ड र हङ्गेरीका अन्तरिक्ष यात्रीहरूसहितको एक ऐतिहासिक निजी अन्तरिक्ष उडान मङ्गलबार प्रशान्त महासागरमा सफलतापूर्वक अवतरणसँगै सम्पन्न भएको छ।
स्पेसएक्सको क्याप्सुल सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट छुट्टिएपछि २४ घण्टाभित्रै दक्षिणी क्यालिफोर्नियाको तटीय क्षेत्रमा समुद्रमा प्यारासुटको सहायताले अवतरण गरेको हो।
तीन साताअघि अमेरिकी कम्पनी एक्सिओम स्पेसद्वारा चार्टर्ड गरिएको यो मिसनमा चार जना अन्तरिक्ष यात्री सहभागी थिए। टोलीको नेतृत्व नासाकी पूर्व अनुभवी अन्तरिक्ष यात्री पेगी ह्विटसनले गरेकी थिइन्। अन्य सदस्यमा भारतका शुभांशु शुक्ला, पोल्यान्डका स्लावोस्ज उज्नान्स्की–विस्निएव्स्की र हङ्गेरीका तिबोर कापु थिए।
अघिल्लोपटक उनीहरू सन् १९७० र ८० को दशकमा सोभियत संघसँग सहकार्यमा अन्तरिक्ष गएका थिए।
यस पटकको यात्रामा अन्तरिक्ष यात्रीहरूले आफ्नो देशको वैज्ञानिक सम्पदा झल्काउने थुप्रै प्रयोगहरू पनि सञ्चालन गरेका थिए। उनीहरूको यात्राका लागि सम्बन्धित देशहरूले करिब ६ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी तिरेका थिए।
सन् २०२२ यता एक्सिओम स्पेसले परिक्रमा चौकीतर्फ सञ्चालन गरेका निजी मिसनमध्ये यो चौथो हो। नासाको दीर्घकालीन रणनीति अन्तर्गत निजी क्षेत्रलाई अन्तरिक्षमा आकर्षित गर्ने योजनाको हिस्सा भएको यो मिसनले भविष्यमा व्यावसायिक अन्तरिक्ष स्टेसन निर्माणको ढोका खोल्ने अपेक्षा गरिएको छ।
असार ३१, २०८२ मंगलबार २१:३९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।