दुई दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी खुल्यो

दुई दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी खुल्यो

गुल्मी : आइतबार बिहानदेखि अवरुद्ध भएको गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ।

कालीगण्डकी गाउँपालिका-१ को गरगरे र वडा नं ६ बरल्वा क्षेत्रमा सडकमाथिबाट ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। चट्टानसहितको पहिरोका कारण सडक दुई दिनसम्म अवरुद्ध रह्यो।

जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र स्काभेटर प्रयोग गरी पहिरो हटाएपछि आज अपराह्नदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार लगातारको वर्षाले पहिरो पन्छाउन कठिन भएको थियो।

स्थानीय पालिका र प्रशासनले सडक क्षेत्रमा अझै पनि पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिरहेका छन्। बर्खा सुरु भएयता कालीगण्डकी करिडोर सडक पटकपटक बन्द हुने समस्या आइरहेको छ।

असार ३१, २०८२ मंगलबार २०:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।