प्रदीपले ‘जहाजै’ लाई समय नदिएपछि नयाँ हिरो खोज्दै कृषा

काठमाडौं : निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म ‘जहाजैमा’ अहिले कलाकार छनोटको चरणमा छ। भदौबाट छायांकन सुरु गर्ने तयारीमा रहेको यस फिल्ममा सौगात मल्ल, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटी पहिले नै अनुबन्ध भइसकेका छन्।
‘जहाजैमा’ कृषाकै अघिल्लो फिल्म ‘पिताम्बर’को टिमसँग केही हदसम्म मिल्दोजुल्दो छ। त्यसैले ‘पिताम्बर’मा काम गरिसकेका सौगात मल्ल फेरि दोहोरिएका छन्। त्यस्तै चर्चित अभिनेता प्रदीप खड्का पनि यसमा जोडिने चर्चा चलेको थियो। निर्माण टिमले प्रदिपसँग संवाद पनि गरेको थियो। तर उनी अहिले अर्को फिल्मको सुटिङमा व्यस्त हुने भएकाले ‘जहाजैमा’का लागि समय दिन नसक्ने भएसँगै अब कृषा नयाँ हिरोको खोजीमा छिन्।
उकेरासँग कुरा गर्दै प्रदीपले पनि फिल्मको प्रस्ताव आएको स्वीकारे। तर, उनले भने, ‘निर्माण पक्षसँग कुराकानी भएको थियो, तर म जुन फिल्ममा लागिसकेको छु, त्यसको सुटिङ ‘जहाजैमा’सँग जुध्ने भएकाले समय दिन सकिनँ।’
यो परिस्थितिलाई लिएर आफूहरूबीच मनमुटाव भने नभएको प्रदीपले बताए। उनीहरू आगामी दिनमा ‘पिताम्बर’को सिक्वेलमा पुनः सँगै काम गर्ने तयारीमा छन्। त्यसैले ‘जहाजैमा’का लागि कृषा अहिले कथामा सुहाउने नयाँ अनुहारको खोजीमा छिन्।
नयाँ हिरोको लागी भने दर्शकले अझै केही दिन कुर्नै पर्ने हुन्छ।
असार ३१, २०८२ मंगलबार १९:५९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।