विश्वप्रकाशले कार्यकर्तालाई भने- गठबन्धनले गर्दा विगतमा साइकल, मसाल, कलममा भोट हाल्न पर्‍यो, अब त्यसो हुँदैन

विश्वप्रकाशले कार्यकर्तालाई भने- गठबन्धनले गर्दा विगतमा साइकल, मसाल, कलममा भोट हाल्न पर्‍यो, अब त्यसो हुँदैन

बारा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी आमनिर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन्। 

बाराको कलैयामा मंगलबार आयोजित पार्टीका नेता-कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अब कांग्रेसबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने दाबी गरे।

शर्माले विगतमा गठबन्धनको कारणले कांग्रेस समर्थकहरूलाई साइकल, मसाल, कलम जस्ता अन्य दलका चुनाव चिन्हमा भोट हाल्न बाध्य बनाइएको बताए। तर, आगामी २०८४ सालको आमनिर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने तयारी गरिरहेको भन्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने शर्माले बताए। ‘जनता कांग्रेसको चुनाव चिन्ह हेरेर मत हाल्न आतुर छन्,’ उनले भने, ‘अब कुनै गठबन्धन होइन, पार्टीकै नाममा स्पष्ट बहुमतसहित सरकार बनाउने लक्ष्य राख्नुपर्छ।’

उनले कांग्रेसले जहिले पनि लोकतन्त्र, प्रेस स्वतन्त्रता, विधिको शासन, समृद्धि र भ्रष्टाचारको अन्त्यमा स्पष्ट अडान लिँदै आएको स्मरण गराए। ‘०८४ पछि कांग्रेस नेतृत्वमा बहुमतको सरकार बनाउनु पर्छ, र त्यसका लागि अहिलेबाटै जनताको पक्षमा काम गर्न आवश्यक छ,’ उनले भने। 

महामन्त्री शर्माले वर्तमान गठबन्धन सरकारमा रहेका कांग्रेस मन्त्रीहरूले गरेका कामबारे जनस्तरमा प्रचार गर्न नेताहरूलाई आग्रहसमेत गरे। कांग्रेसको आगामी महाधिवेशन २०८३ सालमा हुने उल्लेख गर्दै उनले त्यसअघि सहमति, सहकार्य र एकताको सन्देश जनतामा दिनुपर्ने धारणा राखे।

असार ३१, २०८२ मंगलबार १९:३५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।