एमालेले नपत्याएपछि वामदेव समूह नेकपा एसमा समाहित हुँदै

एमालेले नपत्याएपछि वामदेव समूह नेकपा एसमा समाहित हुँदै

काठमाडौं : बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादी एक हुने भएका छन्।

आइतबार प्रतिनिधि सभा परिषद्मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेको बताए।

उनले भने, ‘एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो। एमालेले पर्ख पर्ख भनेर भन्यो। पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो। दुई घण्टा भाषण गर्नुभयो। समयमा खबर हुन्छ भनेर पठाउनुभयो। पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौ। साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौ।’ 

उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भन्डारीसँग पनि नभएको बताए। 

‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु। सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु। विद्या भन्डारीसँग पनि मैले त्यो क्षमता पाइँन। म नेकपा एकीकृत समाजवादीमा जाँदैछु। एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेका कार्यकर्ता हुनुहुन्छ।’

असार ३१, २०८२ मंगलबार १८:५०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।