‘म त ढले ढले’ भन्ने गीतको सफलतामा केक काट्नेहरूले नै ‘लुकि लुकि’लाई उजुरी हालेछन् : ज्योती मगर

‘म त ढले ढले’ भन्ने गीतको सफलतामा केक काट्नेहरूले नै ‘लुकि लुकि’लाई उजुरी हालेछन् : ज्योती मगर

काठमाडौं : लोकगीतमा विकृति आयो भन्दै उजुरी परेपछि गायिका ज्योती मगरले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाएकी छन्। समसामयिक विषयमा बेलाबेला बोलिरहने ज्योती लोकगीतका सन्दर्भमा खरो रुपमा बोल्छिन्। 

आइतबार राष्ट्रिय लोक सञ्चारकर्मी मञ्च र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यस वर्षका केही तीज गीतले विकृति फैलाएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका हुन्। प्रतिष्ठानले पाँच वटा र मञ्चले तीन वटा गीतलाई विकृत भन्दै ती गीतका सर्जकमाथि कारबाहीको माग गरेका छन्।

 उजुरीमा समावेश गीतहरूमध्ये रामजी खाँडको तीज गीत ‘लुकी लुकी’ पनि परेको छ। सो गीत विवादमा आएपछि गायिका मगरले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रामजी खाँडको आलोचना गरिन्। ‘मलाइ पल्लारे साइलो ले.. म त ढले ढले भन्ने गीत करोड क्लब मा पुग्दा केक काट्न र बधाई दिन पुगेको दोहोरी प्रतिष्ठान अहिले लोक संचारकर्मीको काँधमा बन्दुक राखेर ‘माया लुकि लुकि’ लाई उजुरी गरेको पत्ता लाग्यो... रामजी खाँड लगायतका केही कलाकारहरू हिजो अरूको सिर्जनालाई विकृति हो भन्दै झुण्ड मा जाइलाग्नेहरू आज आफै लाई पर्दा बल्ल चिच्याउन थालेको देखियो।’

उनको यो भनाईमा राजमीले चोट परेको टाउकोमा घनले नहान प्यारी भन्दै जवाफ फर्काएका छन्। ‘त्यसै त चोट परेको टाउकोमा घनले नहान प्यारी,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

ज्योतीले कला, साहित्य र सिर्जनामा नियन्त्रण अस्वीकार्य भएको भन्दै लेखेका छन्, ‘मैले भनेकै हो कला,साहित्य र सिर्जनामा नैतिक र सेल्फ सेन्सर बाहेक कुनै मापदण्ड हुँदैन कसैको बाउ को बिर्ता होइन भनेर।’

उनले विकृति भएको गीतको मूल्याङ्कन गर्ने काम युट्युब र गुगलले गर्ने भएकाले अनावश्यक आरोप-प्रत्यारोप गर्नु बेमतलब भएको बताएकी छन्। ‘विकृति जन्य सिर्जनालाई युट्युब र गुगलले वार्न गर्छ बुड्डि बुङ्गाहरूको काम छैन अरूलाई आरोप प्रत्यारोप लाउने बाहेक,’ उनले लेखेकी छन्। 

आइतबार सञ्चारकर्मी मञ्चले रामजीको अलवा ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’ बोलको गीतका समाचार प्रसारण तथा प्रकाशनमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गर्दै ब्यूरोमा उजुरी हालेका थिए।

असार ३१, २०८२ मंगलबार १७:५१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।