नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनपीएस-एनसीएस र नेपालपे कार्डमा आबद्ध

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनपीएस-एनसीएस र नेपालपे कार्डमा आबद्ध

काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) बीच राष्ट्रिय भुक्तानी प्रणाली-नेशनल कार्ड स्विच (एनपीएस-एनसीएस) तथा देशमै सञ्चालन हुने कार्ड योजना ‘नेपाल पे कार्ड’का लागि सदस्यता सम्झौता भएको छ।

सम्झौतापत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

एनसीएचएलले नेपालपे कार्ड जारी गर्न तथा कारोबार गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरिसकेको छ। अबको व्यावसायिक कार्यान्वयनपछि एनआईएमबीले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड सेवा दिन पाउनेछ।

एनपीएस-एनसीएसले नेपालभित्रको कार्ड कारोबारलाई एउटै केन्द्रीय प्रणालीबाट सञ्चालन गर्ने सुविधा दिनेछ। यसले अन्तर्राष्ट्रिय कार्ड योजनामा निर्भरता घटाउने, कारोबार खर्च घटाउने, डेटा नेपालमै राख्न सकिने र डिजिटल भुक्तानी प्रणालीमा नयाँ नवप्रवर्तन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

हाल एनसीएचएलसँग ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश भुक्तानी सेवा प्रदायक (पीएसओ) र १०० भन्दा बढी प्राविधिक सदस्य आबद्ध छन्। नेपालपे कार्ड योजना र एनपीएस–एनसीएसको कार्यान्वयनले नेपालको कार्ड प्रणालीलाई नयाँ चरणमा लैजाने विश्वास लिइएको छ।

एनआईएमबीसँग आफ्नै कार्ड स्विच प्रणाली छ, जसबाट ३ वटा वाणिज्य बैंक, ५ विकास बैंक र १ वित्त कम्पनीलाई सेवा दिइँदै आएको छ। एनआईएमबीको स्विच एनपीएस–एनसीएससँग जोडिएपछि ती संस्थाहरू पनि नेपाल पे कार्ड सेवा सञ्चालन गर्न प्राविधिक रूपमा सक्षम हुने बताइएको छ।

देशभर एनआईएमबीको २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर र २६५ एटिएम सञ्चालनमा छन्।

असार ३१, २०८२ मंगलबार १७:०५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।